दर्जनबढी सङ्घसंस्थामा काम गर्नुभएकी हरिकुमारी प्रदेश योजना आयोगको सदस्य नियुक्त

Minakshi Rai
।

खोटाङ, १६ असोज । कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्य खोटाङकी हरिकुमारी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कोशी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज (शुक्रबार) आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयोगका नवनियुक्त सदस्य हरिकुमारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा वि.सं. २०४५ जेठ–२९ गते जन्मनुभएकी हरिकुमारीले शिक्षा तथा भाषा विज्ञानमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ भने, कानून सङ्कायमा एलएलबीसम्मको अध्ययन पूरा गर्नुभएको छ । जिल्लामा सञ्चालित दर्जनबढी सङ्घसंस्थामा आवद्ध भएर करिब १२ वर्ष काम गरेको अनुभव बटुल्नुभएकी हरिकुमारीले हलेसी तुवाचुङ नगरपालिकामा श्रम तथा रोजगार शाखा प्रमुखका रूपमा समेत तीन वर्ष काम गर्नुभएको थियो ।

सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय रहनुभएकी हरिकुमारी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको सदस्य तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) खोटाङको जिल्ला सचिव हुनुहुन्छ । दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिको सदस्यसमेत रहनुभएकी हरिकुमारीलाई नेकपा खोटाङले कोशी प्रदेश योजना आयोगको सदस्यमा नियुक्ति गर्नका लागि सिफारिस गरेको हो ।

नवनियुक्त सदस्य हरिकुमारीसँगै मोरङको विराटनगर उपमहानगरपालिका–३ विराटनगरका तोयानाथ खतिवडा ‘रुपेश’ले समेत कोशी प्रदेश योजना आयोगको सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कोशी प्रदेश सरकारमा यसअघि तत्कालीन सत्ता गठबन्धनकातर्फबाट नियुक्त नेपाली काँग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि रिक्त रहेको पदमा हरिकुमारी र तायानाथलाई नियुक्त गरेको हो ।

नवनियुक्त सदस्य हरिकुमारी र तोयानाथलाई कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले योजना आयोगको सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश योजना आयोगको नीति, निर्देशिका तथा कार्ययोजनाअनुसार जनमुखी काम गर्ने नवनियुक्त सदस्य हरिकुमारीले प्रतिवद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया