खोटाङ, १६ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दसैँ, तिहार तथा छठ पर्वको समयमा हुने अवैध भाडा असुली नियन्त्रण तथा यात्रुको चापलाई व्यवस्थापन गर्न जिल्लाका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको अवसर पारेर आवतजावत गर्ने यात्रुको सुरक्षा, सहज र व्यवस्थित यात्रा व्यवस्थापन गर्न दिक्तेलबजारको रत्नपार्कस्थित किरातचोक र जिल्ला प्रवेश गर्ने प्रमुख नाका जयरामघाटमा सहायता कक्ष सञ्चालन गरिएको हो ।
चाडपर्वको समयमा हुनसक्ने समस्या समाधान गर्न जिल्लाका दुई ठाउँ (प्रवेश र प्रस्थान) गर्ने ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कार्कीले बताउनुभएको छ । यात्रु सहायता कक्षमा यात्रुले भीडभाडका बीचमा यात्रा गर्दा पर्नसक्ने समस्या समाधान, ट्राफिक नियमबारे सचेतना, टिकट परीक्षण र भाडासम्बन्धी गुनासो राख्न सक्ने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकिएभन्दा बढी भाडा असुल्ने वा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने घटना भएमा तत्काल प्रहरीलाई जानकारी दिन यात्रु तथा सरोकारवाला निकायलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यात्रु सहायता कक्ष उद्घाटन कार्यक्रममा यातायात व्यवसायीले अनिवार्य टिकट दिन र यात्रुलाई टिकट लिएर मात्र यात्रा गर्नसमेत सचेत गराइएको छ ।
सहायता कक्षबाट ट्राफिक प्रहरी नियमित अनुगमन गर्ने र आवश्यक परे यात्रुको गुनासो तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले चाडपर्वमा हुने भीडभाडका बीच यात्रुको सहज यात्राका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
चाडपर्वको समयमा तोकिएको भाडादरभन्दा बढी भाडा लिएको पाइएमा तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले आग्रह गर्नुभएको छ । “चाडपर्वको समयमा तोकिएको भाडादरभन्दा बढी भाडा आफूबाट लिइएको महसुस भएमा नजिकै रहेको प्रहरी वा यात्रु सहायता कक्षमा जानकारी गराउनु होला । यात्रुले भाडा बढी लियो भन्नुहुन्छ । तर, त्यसको आधार के हो भनेर हामीले पनि भेट्नुपर्छ । बाटोमा हामी निलो बर्दी लगाएर उभिरहेका हुन्छौँ । हामीले बाटो बनाएका पनि होइनौँ, गाडीको मेकानिक पनि होइनौँ । तर, सबै कुरा प्रहरीसँगै जोडिएर आउँछ”, उहाँले भन्नुभयो, “जहाँबाट यात्रु चढ्नुपर्ने हो । त्यहाँ प्रहरी र यात्रु सहायता कक्ष हुन्छ । प्रहरीलाई जानकारी गराएपछि आवश्यक कारबाही प्रहरीले गर्छ । चालकलाई पनि अनुशासित भएर तोकिएको मापदण्डअनुसार सवारी सञ्चालन गर्न आग्रह गर्छु । दुई रुपैयाँको लोभमा वा दुई जना यात्रु बढी राख्दा ठूलो दुर्घटना हुन सक्छ । त्यसैले तोकिएको मापदण्डअनुसार गाडी चलाइदिनुहोला ।”
गत वर्ष दसैँका क्रममा मानवीय क्षति हुने गरी ठूलो दुर्घटना नभएको उल्लेख गर्नुहुँदै प्रनाउ बुढाथोकीले यस वर्ष पनि यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । “सामान्य दुर्घटना त हुन्छ नै । तर, दसैँ मनाउन खुसीसाथ आएका यात्रुहरू निराश भएर फर्कनुपर्ने अवस्था नआओस्”, उहाँले भन्नुभयो, “हरेक वर्ष चाडपर्वमा घर जाने र फर्कने यात्रुको चाप बढ्ने हुँदा यातायात व्यवसायीले तोकिएभन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउने जस्ता समस्या देखिँदै आएको छ । यसको विशेष निगरानी सडकमा खटिने ट्राफिक प्रहरीले गर्नुहोला ।”
यात्रु सहायता कक्षको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा यातायात व्यवसायी, ट्राफिक प्रहरी, सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको थियो ।


