खोटाङ, १६ असोज । खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित सिमखर्कका ४९ वर्षीय भीमबहादुर बुढाथोकीले थप उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ । घाँटीको क्यान्सरसँग जुधिरहनुभएका बुढाथोकीको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन कठिनाइ भएको हो ।
लामो समयदेखि उपचार गराउँदै आउनुभएका बुढाथोकीको हाल विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको स्थानीय रोशन पौडेलले जानकारी दिनुभएको छ । “बुढाथोकीको मुख र घाँटीको शल्यक्रिया भइसकेको छ । चिकित्सकको सल्लाहअनुसार हप्तामा पाँचपटक रेडियोथेरापी र एकपटक किमोथेरापी गराउँदै आउनुभएको छ”, उहाँले भन्नुभयो, “चिकित्सकले थप उपचार आवश्यक रहेको बताएका छन् । परिवारको आर्थिक अवस्थाका कमजोर छ । उपचारमा लाग्ने खर्च व्यवस्थापन गर्न कठिनाइ भएकाले सहयोगको अपिल गरिएको हो ।”
क्यान्सरको उपचारका लागि करिब रु १५ लाख आवश्यक पर्ने भएपछि सीमित आर्थिक स्रोत भएको बुढाथोकी परिवार थप समस्यामा परेका छन् । बुढाथोकीलाई घाँटीमा क्यान्सर वि.सं. २०८३ भदौ–७ गते पुष्टि भएपछि उपचार सुरु गरिएको हो ।
उपचारलाई निरन्तरता दिन आवश्यक रकम जुटाउन कठिन भएपछि पौडेलको नेतृत्वमा आर्थिक सङ्कलन अभियानसमेत सुरु गरिएको छ । परिवारले भीमबहादुरको उपचारमा सहयोग गर्न सक्ने व्यक्ति, सङ्घसंस्था, समाजसेवी तथा देश–विदेशमा रहेका शुभेच्छुकलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिन आग्रह गरेको छ ।
उपचारका लागि सहयोग गर्न इच्छुकले राष्ट्रिय वाणिज्य बैङ्कमा भीमबहादुर बुढाथोकीको नाममा रहेको खाता नम्बर २३८०१००००००७८००७ मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ । परिवारले आफ्नो आर्थिक अवस्थालाई बुझेर उपचारमा सक्दो सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ ।


