खुकुरी प्रहारबाट याम्खाका ३५ वर्षीय ध्रुव अधिकारीको मृत्यु

Halesi Khabar

खोटाङ, २५ असार । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ३५ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएको छ । याम्खाका स्थानीय ५३ वर्षीय तीलकबहादुर मग्रातीले बिहीबार प्रहार गरेको खुकुरीबाट अधिकारीको मृत्यु भएको हो ।

आपसी विवादका क्रममा मग्रातीले खुकुरी प्रहार गर्दा अधिकारीको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको याम्खाका वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ । मग्रातीको घरमा भएको घटनामा मृतक अधिकारीको टाउको र ढाडमा गहिरो चोट लागेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि आरोपित मग्राती आफैले प्रहरीमा फोन गरेर घटनाको विषयमा जानकारी दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । “याम्खामा भएको घटनाको विषयमा यथार्थ जानकारी प्राप्त भएको छैन । आरोपित मग्राती आफैले घटनाको विषयमा जानकारी दिएपछि उनलाई नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “अहिले घटनास्थल तनावग्रस्त छ । आरोपित मग्रातीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ । घटनाको विषयमा यथार्थ बुझ्न जिल्ला प्रहरी कार्यालयबाट सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा टोली परिचालन गरिएको छ ।”

मृतक अधिकारी र मग्रातीबीच आर्थिक कारबोर रहेको र मृतक अधिकारी मग्रातीको घरमा पुगेको अवस्थामा विवाद हुँदा मग्रातीले खुकुरी प्रहार गरेको खुलेको वडाध्यक्ष खत्रीले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने, प्रहरी नियन्त्रणमा रहेका मग्रातीले आफ्नो घरमा बिरामीका कारण सुतिरहेको छोरीमाथि अभद्र व्यवहार गरेको भनेर छोरीले फोनमार्फत जानकारी दिएपछि आफू गएर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकार गरेको जानकारी दिनुभएको छ ।

घटनालगत्तै प्रहरी चौकी याम्खाले नियन्त्रणमा लिएको हत्या आरोपित मग्रातीलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरेको प्रहरीले जनाएको छ । मृतक अधिकारीको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाउने तयारी गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया