खोटाङ, २३ असार । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरेको कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा नेपाल खेलकुद प्रतिष्ठान खोटाङले कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता आयोजना गरेको हो ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगिताको औपचारिक उद्घाटन मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर पढेर गर्नुभएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा बुद्धिचाल सङ्घका कोशी प्रदेश अध्यक्ष सुरेन्द्रकुमार राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खेलकुद क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, खेलाडी लगायतको उपस्थिति रहेको छ ।
प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगितामा आठ जिल्लाका ६२ जना खेलाडीको सहभागिता रहेको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले जानकारी दिनुभएको छ । कोशी प्रदेश बुद्धिचाल सङ्घ सह–आयोजक तथा जिल्ला बुद्धिचाल सङ्घ खोटाङको व्यवस्थापनमा सञ्चालित प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
दशौँ स्थान हासिल गर्ने खेलाडीसम्मलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा द्धितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेलाई क्रमशः रु १५ हजार, रु दश हजार, रु आठ हजार र रु सात हजार तथा सातौँ, आठौँ, नवौँ र दशौँ हुने खेलाडीलाई जनही रु पाँच÷पाँच हजार प्रदान गरिने जनाइएको छ । सात समूहमा विभाजन गरेर फरक–फरक विद्यामा पुरस्कृत गर्नेगरी आयोजना गरिएको प्रतियोगिता अन्तरगत महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद रु सात हजार, रु पाँच हजार र रु चार हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
विद्यार्थीतर्फ प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई नगद रु पाँच हजार, रु चार हजार र रु तीन हजार तथा खोटाङ जिल्ला प्रथम हुने खेलाडीलाई नगद रु चार हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रथम हुने खेलाडीलाई नगद रु तीन हजारको साथमा ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । रेटिङतर्फ एक हजार ७०० र एक हजार ६०० मुनिका खेलाडीलाई नगद रु चार÷चार हजार, उमेर समूहतर्फ १६ वर्ष मुनिकालाई रु चार हजार तथा १२ वर्ष मुनिका खेलाडीलाई नगद रु तीन हजार प्रदान गरिने जनाइएको छ ।
प्रदेशभरका खेलाडीमध्ये हिल च्याम्पियन (उच्च पहाडी क्षेत्रका उत्कृष्ट) हुने खेलाडीलाई नगद रु चार हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । स्वीस लिग फरम्याट (स्वीजरल्याण्डमा प्रचलित नियम) अन्तरगत सञ्चालन गरिने प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न करिब रु आठ लाख २४ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।


