विद्यालय प्रवेश गरेर अभद्र व्यवहार गर्ने तीनजना पक्राउ, दुई दिनदेखि पठनपाठन बन्द

Minakshi Rai

खोटाङ, २४ असार । मादक पदार्थ सेवन गरेर विद्यालयमा अभद्र व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका तीन जना व्यक्ति पक्राउ परेका छन् । खार्मीस्थित बाँझोबारीमा सञ्चालित जालपा आधारभूत विद्यालयमा खुकुरी तथा मादक पदार्थको बोत्तलसहित प्रवेश गरेका स्थानीय ३७ वर्षीय धनकुमार तामाङ, ३२ वर्षीय तीर्थ तामाङ र ४४ वर्षीय पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको अवस्थामा आरोपित तीन जना व्यक्ति प्रवेश गरेर परीक्षा तथा पठनपाठन अवरुद्ध बनाएर आतङ्कित बनाएकाले प्रहरीलाई खबर गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले जानकारी दिएपछि प्रहरी चौकी खार्मीले मङ्गलबार दिउँसो नियन्त्रणमा लिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा लगेर कारबाहीका लागि हिरासतमा राखिएको छ ।

मादक पदार्थ सेवन गरेका तीन व्यक्तिको अभद्र व्यवहारपछि पठनपाठन रोकेर सदरमुकाम दिक्तेल आएका शिक्षकहरुले कानूनी कारबाहीको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङमा सार्वजनिक अभद्र व्यवहार महल अन्तरगत मुद्धा दर्ता गराएका छन् । विद्यालयजस्तो शान्ति क्षेत्रमा बिना अनुमति प्रवेश गरेर अभद्र व्यवहार गर्दै आतङ्कित बनाउनेविरुद्ध कडाभन्दा कडा कारबाहीको माग गर्दै आफूहरुलाई विद्यालयमा फर्किएर सहजरुपमा पठनपाठन गर्ने वातावरण मिलाइदिन जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दर्ता गराइएको शिक्षकहरुले बताएका छन् ।

पक्राउ परेका तीन जना व्यक्तिविरुद्ध विद्यालयको तर्फबाट निमित्त प्रधानाध्यापक उमादेवी दाहालले दिनुभएको किटानी जाहेरीमा मुद्धा दर्ता गराएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभएको छ । घटनास्थलबाट मादक पदार्थसहित पक्राउ परेका उनीहरुविरुद्ध अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

विद्यालयको पठनपाठ बन्द गराएर दिक्तेल आएका शिक्षकहरुले बुधबार नै शिक्षा विकास तथा समन्वय इकाई खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा समेत कानूनी कारबाहीको माग गर्दै उजुरी दिएका छन् । शिक्षकहरुको उजुरीपछि नगरपालिकाको कार्यालयमा आयोजना गरिएको छलफलमा प्रहरी नियन्त्रणमा रहेका दोषीलाई कारबाही तथा विद्यालयको अवरुद्ध पठनपाठन साझा सहमतिमा पुनः सञ्चालन गर्ने मौखिक सहमति भएको छ ।

नगरप्रमुख तीर्थराज भट्टराईको उपस्थितिमा भएको छलफलमा सरोकारवाला निकायको टोली घटनास्थलमा गएर अध्ययन गर्ने र विद्यालय व्यवस्थापन समिति पुर्नगठन गरेर विद्यालय सञ्चालन गर्ने विषयमा कुरा भएको शिक्षकहरुले बताएका छन् । वर्तमान विद्यालय व्यवस्थापन समितिले आफूहरुमाथि यसअघिदेखि नै बिना कारण विभिन्न बहानामा दबाब सिर्जना गर्दै आएको आरोप लगाएका छन् ।

खार्मीमा भएको घटनाको विषयमा नेपाल शिक्षक महासङ्घ खोटाङले विज्ञप्ति जारी गर्दै आफूहरुको गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । विद्यालयजस्तो संवेदनशील र शान्ति क्षेत्रलाई आतङ्कित बनाउने व्यक्तिहरुलाई कानूनअनुसार कडाभन्दा कडा कारबाही तथा शिक्षकहरुलाई सहजरुपमा विद्यालय फर्किएर नियमित पठनपाठन गर्ने वातावरण सिर्जना गर्न शिक्षक महासङ्घले आग्रह गरेको छ ।

विभिन्न बहानामा विद्यालयमा यसअघिदेखि भइरहेको द्धन्द्धका घटनालाई निर्मूल पार्दै विद्यार्थीको शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार सुनिश्चित गर्न शिक्षक महासङ्घले विज्ञप्तिमार्फत आग्रह गरेको छ । मादक पदार्थ सेवन गरेका व्यक्ति बिना अनुमति विद्यालय प्रवेश गरेर शिक्षक तथा विद्यार्थीमाथि धाकधम्की दिने गरेको घटना निन्दनीय भएकाले सम्बन्धित निकायले निराकरण गर्नुपर्ने शिक्षक महासङ्घका अध्यक्ष मीनकुमार दाहालले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया