अधिकारीमाथि खुकुरी प्रहारगरी हत्या गरेको आरोपमा एकै घरका तीनजना पक्राउ

Minakshi Rai

खोटाङ, २७ असार । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुब अधिकारी मृत्य भएपछि हत्या आरोपमा एकै घरमा तीनजना पक्राउ परेका छन् । घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनका श्रीमती ५२ वर्षीय भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् ।

तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । अधिकारीको मृत्युपछि तीलकबहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएको तथा श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि नियन्त्रण लिइएएको प्रहरीले जनाएको छ ।

मुख्य आरोपित तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहारगरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । तीलकबहादुरको घरमा भएको घटनामा अधिकारीको टाउकोसहित शरीरका विभिन्न भागमा खुकुरी प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो ।

घटनाका आरोपीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा अन्तरगत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक अधिकारीको शव जिल्ला अस्पताल खोटाङमा ल्याएर परीक्षण गरेपछि शुक्रबार आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारबोर रहेको र मृतक अधिकारी सार्कीको घरमा पुगेको अवस्थामा विवाद हुँदा सार्कीले खुकुरी प्रहार गरेर हत्या गरेको खुलेको याम्खाका वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ । मृतक अधिकारी र सार्कीबीच सोही दिन गाउँमा समेत झगडा भएको स्थानीयले बताएका छन् ।

मृतक अधिकारी मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको र गाउँमा आरोपित सार्की र अधिकारीबीच भएको झगडा साम्य भएपछि पुनः मृतक अधिकारी सार्कीको घरमा पुगेको अवस्थामा हत्या भएको जनाइएको छ । मृतक अधिकारी सार्कीको घरमा पुगेर केही थान कुर्सीसमेत तोडफोड गरेपछि छोरी सीताले फोनमार्फत बुबा तीलकबहादुरलाई बोलाएपछि तीलकबहादुरले प्रहार गरेको खुकुरीबाट अधिकारीको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया