खोटाङ, ३० असार । किरात साम्पाङ राई समुदायको ऐतिहासिक एवम् उद्गमथलो मानिने खोटाङको बास्पानीस्थित ‘खकलुङ’को संरक्षण तथा प्रवद्र्धन योजना अघि बढेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका–३ बास्पानीमा अवस्थित खकलुङको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न आवश्यक भौतिक पूर्वाधारका संरचनाहरु निर्माणको काम सुरु गरिएको हो ।
नेपाल सरकार, शहरी विकास मन्त्रालयको रु ८९ लाख ३० हजार ७८४ बजेटबाट पहिलो चरणमा मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल) निर्माण गरिएको छ । किरात साम्पाङ राई जुम्लेखा केन्द्रीय कार्यसमितिको पहलमा रु १४ करोड ६६ लाखको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारेर विभिन्न भौतिक संरचना निर्माणको काम थालिएको हो ।
किरात साम्पाङ राई समुदायको ऐतिहासिकस्थल एवम् उद्गमस्थल खकलुङमा क्रमशः कार्यालय भवन, सङ्ग्रहालय, गेष्टहाउस (पाहुना घर), पार्किङस्थल, शौचालय लगायतका भौतिक संरचना निर्माण गर्ने योजना रहेको बास्पानीका स्थानीयवासी एवम् किरात साम्पाङ राई जुम्लेखा खोटाङका अध्यक्ष प्रताप राईले जानकारी दिनुभएको छ । खकलुङमा निर्माण गरिएको मेसिनरी वाल डिजी निर्माण सेवाले निर्माण गरेको हो ।
खकलुङको संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधारका संरचना निर्माण गर्न भूगोल तयार पार्नका लागि मेसिनरी वाल निर्माण गरिएको जुम्लेखाले जनाएको छ । जुम्लेखाको नाममा रहेको १५ रोपनी सार्वजनिक जग्गामा आवश्यक संरचनाहरु निर्माण गरिने जनाइएको छ ।
साविकको बास्पानी गाउँ विकास समिति (गाविस)को वडा नं.–९ मा पर्ने खोक्मास्थित खकलुङलाई साम्पाङ राईको ऐतिहासिक एवम् उद्गमस्थल मानिन्छ । खकलुङमा हरेक वर्षको उँभौली र उँधौली साकेला चाडमा साम्पाङ राईहरु भेला भएर पूजाआजा गर्दै साकेला सिली नाच्ने गरेका छन् ।
खोक्मास्थित रुमालुङ ढुङ्गाको केही माथि र केही तलबाट निर्माण गरिएको अग्ला–अग्ला मेसिनरी वाल विवादरहित भने रहेनन् । पर्याप्त छलफल नगरी डिपीआर बनाइएको, मेसिनरी वालको उचाई अनुसार फिलिङ गर्दा रुमालुङ पुरिने अवस्था आएको, पर्खालको कतिपय ढुङ्गामा ग्याप देखिएको, फिनिसिङ राम्रो नभएको, बजेट अनुसारको काम नभएको जस्ता टिकाटिप्पणी भएका थिए ।
निर्माणाधीन भौतिक संरचनाको विषयमा टिकाटिप्पनी भएपछि जुम्लेखाको टोली आयोजना गरेको निरीक्षणपछि जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राईले डिजाइन र स्टीमेट अनुसार मेसिनरी वाल बनेको प्रतिक्रिया दिनुभएको छ । “यो हाम्रो ऐतिहासिकस्थल हो । यहाँ बन्ने हरेक संरचनामा हाम्रो नजर पुगेको छ”, उहाँले भन्नुभयो, “किरात साम्पाङ राईहरुको ऐतिहासिक एवम् उद्गमथलो खकलुङको संरक्षण तथा प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । यसले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्छ ।”
सामाजिक सञ्जालबाटै गुनासो पोखिएपछि किरात साम्पाङ राई जुम्लेखाको केन्द्रीय कमिटि अध्यक्ष राई, महासचिव चक्रभूषण राई, कोषाध्यक्ष खड्गबहादुर राई र सह–कोषाध्यक्ष पवन राईको टोलीले असार–२७ गते निर्माणस्थल निरीक्षण गरेको थियो । भौतिक संरचना निर्माणस्थल पुगेको निरीक्षण टोलीले कसैको बिना गल्ती सामाजिक सञ्जाल प्रयोग गरेर अफवाह नफैलाउनसमेत आग्रह गरेको छ ।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार डिपीआर अनुसार नै मेसिनरी वालको काम भएको जनाइएको छ । शहरी विकास मन्त्रालयबाट विनियोजित बजेटमार्फत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले खकलुङको प्रवद्र्धन तथा स्तरोन्नतिको काम गराएको हो ।
बास्पानीस्थित खोक्माको खकलुङमा साम्पाङ राई समुदायको पुर्खा ‘रेप्सुना’ले पहिलोपटक पाइला टेकेको भन्ने किम्बदन्ती छ । खकलुङ, रुमालुङ र साम्फलुङ नजिकै बाह्रै महिना पानी जम्ने ‘खकलुङ कुवा’समेत रहेको छ ।
खकलुङ र रुमालुङलाई साम्पाङ राई भाषामा फुपालुङ र मुमालुङ (बाजेबजू) ढुङ्गासमेत भन्ने गरिएको जुम्लेखा खोटाङका
जिल्ला अध्यक्ष राईले जानकारी दिनुभएको छ । साम्फलुङ भने जमिनमुनि दबिएको अवस्थामा रहेको छ ।
साम्पाङ राई भाषामा ‘साम्फ’ भनेको समथर भन्ने हुन्छ । साम्फलुङमा परापूर्वकालमा ओडार रहेको र सोही ओडारमा बसेका साम्पाङ राईहरुको पुर्खाबाट सन्तान वृद्धि भएर देशभर फैलिएको उनीहरुको दाबी छ ।


