उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

Halesi Khabar

खोटाङ, ३० असार । नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तरगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारीलाई सम्मान गरेको छ । दिक्तेलस्थित कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना तथा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित बाँझगरा कुलो सिँचाइ योजना निर्माण उपभोक्ता समिति तथा कार्यालयकी लेखापाल सविना मगरलाई सम्मान गरिएको हो ।

वार्लङखोला तीनतले चिउरीभिर तथा बाँझगरा कुलो सिँचाइ योजनाले सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन, संरक्षण र व्यवस्थापनमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको कार्यालयले जनाएको छ । दुवै समितिले गुणस्तरीय कार्यसम्पादन, किसानहरूको व्यापक सहभागिता, स्थानीय स्वामित्वको भावना प्रवद्र्धन, बाली सघनीकरण, विविधीकरण तथा बजारीकरणमा देखाएको सक्रियता अनुकरणीय रहेकाले सम्मान गरिएको डिभिजन प्रमुख डा. महेश यादवले जानकारी दिनुभएको छ ।

कार्यालयले हरेक वर्ष योजनाको निर्माण तथा सञ्चालनको मूल्याङ्कन गरी उत्कृष्ट काम गर्ने योजनाका उपभोक्ता समितिलाई सम्मान गर्ने गर्दै आएको छ । डिभिजन कार्यालयले लामो समयदेखि सञ्चालनमा नरहेका पुराना सिँचाइ योजनालाई पुनः सञ्चालनमा ल्याएर कृषि उत्पादन वृद्धि तथा बसाइँसराइ न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्यले काम गरिरहेको जानकारी दिएको छ ।

विगत नौँ वर्षदेखि बन्द रहेको बाँझगरा कुलो सिँचाइ योजनामा हाल पानी सञ्चालन भइसकेको र त्यसबाट किसान उत्साहित भएका छन् । त्यस्तै, करिब १५ वर्षदेखि सञ्चालनमा नरहेको वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना पुनः सञ्चालनमा आएपछि त्यहाँ चैते धान रोपेर उत्पादनसमेत भइसकेको जानकारी प्राप्त भएको कार्यालय प्रमुख डा. यादवले जानकारी दिनुभएको छ ।

यसैगरी, आर्थिक वर्ष २०८२÷८३ मा वित्तीय प्रशासन तथा व्यवस्थापनतर्फ उत्कृष्ट योगदान पु¥याएको भन्दै लेखापाल सविना मगरलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । प्रचलित आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गर्दै बेरुजु न्यूनीकरण, वित्तीय अनुशासन सुदृढीकरण, आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारी कार्यान्वयन तथा सार्वजनिक स्रोत–साधनको पारदर्शी, मितव्ययी एवम् उत्तरदायी परिचालनमार्फत कार्यालयको वित्तीय सुशासन अभिवृद्धिमा योगदान पु¥याएकाले लेखापाल मगरलाई सम्मान गरिएको कार्यालय प्रमुख डा. यादवले बताउनुभएको छ ।

आर्थिक वर्ष २०७५÷७६ देखि २०८०÷८१ सम्म डिभिजन कार्यालयको रु नौँ करोड ६७ लाख १३ हजार बेरुजु रहेकोमा यस वर्ष रु पाँच करोड ३४ लाख ७३ हजार २५२ अर्थात् ५५ दशमलव २९ प्रतिशत बेरुजु फछ्र्यौट भएको जनाइएको छ । कार्यालयको बेरुजु फछ्र्यौट गर्नमा लेखापाल मगरको महत्वपूर्ण योगदान रहेकाले उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको कार्यालयले जनाएको छ ।

सम्मापन कार्यक्रममा डिभिजन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेको कार्यक्रमको समिक्षासमेत गरिएको छ । सम्मानित उपभोक्ता समिति तथा कर्मचारीलाई खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र कार्यालय प्रमुख डा. यादवले सम्मानपत्रसहित खदा ओढाएर सम्मान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया