खोटाङ, २ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कोशी प्रदेश समिति सदस्य कृष्ण कार्की मृत फेला पर्नुभएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ निवासी ५२ वर्षीय प्रदेश सदस्य कार्की गएराति आफ्नै घर नजिकैको बाँसघारीसहितको खोल्सीमा मृत फेला पर्नुभएको हो ।
छिमेकीकामा जान्छु भनेर साउन–१ गते दिउँसो घरबाट हिँड्नुभएका कार्की बेलुका राति अबेरम्म नफर्किएपछि खोजी गर्नेक्रममा आफन्तले मृत फेला पारेको जानकारी प्राप्त भएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले जानकारी दिनुभएको छ । “मृतक कार्कीले साउने सक्रान्तिको अवसरमा घरमा खसी काटेर आफन्तसँगै बिहानको खाना खानुभएको भन्ने बुझिएको छ । दिउँसो छिमेकीकामा गएपछि बेलुकीपख आफन्तसँग फोनसमेत सम्पर्क भएको रहेछ !”, उहाँले भन्नुभयो, “रात परेपछि परिवारसँग फोन सम्पर्क बिच्छेद भएको भन्ने छ । अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्नेक्रममा मृत फेला पर्नुभएको छ । उहाँको मृत्युको कारण खुलेको छैन ।”
डाँडागाउँमा भएको घटनाको अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । “घटनाको जानकारी पाउनासाथ जिल्लाबाट खटिएका टोली घटनास्थल पुगिसकेको छ । अहिलेसम्म मृत्युको कारण खुलेको छैन”, उहाँले भन्नुभयो, “कानूनी प्रक्रिया पूरा गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । शव परीक्षण रिपोर्ट (प्रतिवेदन) आएपछि मात्रै भन्न सकिन्छ ।”
विद्यार्थी सङ्गठन हुँदै मूलधारको राजनीतिमा आउनुभएका मृतक कार्की जिल्ला सदस्य हुँदै नेकपा कोशी प्रदेश समिति सदस्यको जिम्मेवारीमा पुग्नुभएको थियो । प्रदेश सदस्य कार्कीको असामयिक निधनले पार्टी सङ्गठन तथा जिल्लामा ठूलो क्षति पुगेको नेकपा खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले बताउनुभएको छ ।
मृतक कार्कीको घरमा श्रीमती, दुई छोरी र एक छोरा रहेको आफन्तले जानकारी दिएका छन् । मूलधारको राजनीतिकसँगै सामाजिक काममा सक्रिय कार्की दम्पतीका तीनैजना छोराछोरी स्वास्थ्य क्षेत्रका स्थायी कर्मचारी हुन् ।
बुबाको मृत्युको खबर पाएपछि कार्यक्षेत्रमा रहेका छोराछोरी राति नै गाडी रिजर्भ गरेर घरतर्फ हिँडेको आफन्तले बताएका छन् । छोराछोरी आएपछि सर्जमिन मुचुल्का गरेर मृतक कार्कीको शव परीक्षणमा जिल्ला अस्पताल खोटाङ पठाउने तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ ।


