जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान : कातिक–११ गतेदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Minakshi Rai
।

खोटाङ, १० कातिक । जिल्ला प्रशासन कार्यालय खोटाङले कातिक–११ गतेदेखि १५ गतेसम्म जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यो अवधिमा चट्याङ, हावाहुरी र भारी वर्षाका कारण नदी तथा खोलामा पानीको वहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, ग्रेगान वहाव तथा डुवान हुन सक्ने र सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने जोखिम रहेकोतर्फ सचेत गराउदैँ प्रशासनले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरेको हो ।

नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भू–भाग, भिरालो जमिन तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । जोखिमको सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जाने र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातको समयमा यात्रा नगर्न र यात्रा गर्नु अगाडि सडक तथा मौसमको अवस्थाको बारेमा जानकारी लिन प्रशासनले आग्रह गरेको छ । मौसम पूर्णरुपमा नखुलेसम्म अन्नबाली काट्ने योजना नबनाउन तथा काटेको अन्नबाली सुरक्षित राख्न सूचनामार्फत आग्रह गरिएको छ ।

त्यस्तै, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन, पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभाग, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीबारे नियमित जानकारी लिन तथा प्राप्त निर्देशनको पालना गर्न प्रशासनको आग्रह छ ।

जिल्लाका स्थानीय तह, सुरक्षा निकाय, स्वयम्सेवक तथा अन्य सरोकारवाला निकायहरु सबैलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन र जोखिममा रहेका नागरिकालाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत प्रशासनले अनुरोध गरेको छ । आपतकालीन अवस्थामा सम्पर्क नम्बरहरु विपद् कल सेन्टर ०३६–४२०६८१, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल, नेपाल १११४ तथा जिल्ला प्रशासन कार्यालय ९८५२८४९९७७ मा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया