खोटाङ, ९ कातिक : काठमाडाैँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता बनेका तीनमध्ये दुईजनाको शव फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव नाैँ दिनपछि फरक-फरक ठाउँमा फेला परेको हो।
सुनकाेशीमा सुमाेसँगै डुबेर बेपत्ता बनेका पुर्कुटी र राईको सनाखतपछि परिवारले शव घरतर्फ ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएकाे छ । पुर्कुटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित सुनकोशी नदी र राईको शव सोमबार सुनसरीकाे बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित सप्तकोशी नदीमा फेला परेको हाे ।
मृतकका परिवारले दुवै जनाकाे शव जिल्ला अस्पताल खाेटाङमा ल्याएर परीक्षण गर्ने तयारी गरेका छन् । काठमाडौँबाट चालकसहित दश जना यात्रु लिएर खाेटाङ आउँदै गरेकाे काे १ ज २९७६ नम्बरको सुमाे कातिक-१ गते राति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकाेशीमा खसेकाे थियाे ।
सडकबाट करिब २०० मिटर तल सुनकोशीमा खसेर दुर्घटना हुँदा पुर्कुटी, राई र लफ्याङकै २६ वर्षीय रोशनकुमार मग्राती बेपत्ता बनेका थिए । उनीहरूसँगै बेपत्ता बनेका मग्रातीको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवाकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया काव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भइ दिक्तेल बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको मृत्यु भएको थियो । प्रहरीका अनुसार उनीहरु तीनैजनालाई सडकभन्दा केही तल मृत फेला पारिएकाे हाे ।
दशैँ मनाउन घर आएका यात्रु बाेकेकाे सुमाे दुर्घटनामा चालकसहित चारजना घाइते भएका थिए । रातकाे समयमा भएकाे दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उहाँकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा तथा चालक आशिष विश्वकर्मा रहेका छन् ।
दुर्घटनाका चार घाइतेमध्ये सम्झना र शिवानीलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लगिएकाे छ । अङ्कित र चालक आशिषको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
मृतक स्वस्तीका र घाइते अङ्कित दिदीभाइ भएको खुलेको छ । घाइते सबैकाे अवस्थ सुधाराेन्मुख रहेकाे पारिवारिक स्राेतले जनाएको छ ।


