ससुरालीमा खुकुरी प्रहार गर्दा श्रीमतीसहित चार गम्भीर घाइते, पीडक प्रहरीको नियन्त्रणमा

Minakshi Rai
।

खोटाङ, ९ कातिक । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका चार जना गम्भीर घाइते भएका छन् । च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली आहाले गएर गएराति करिब साढे १२ बजे खुकुरी प्रहार गर्दा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासू सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन् ।

शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनीहरु चारैजनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । “घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “आरोपित नइन्द्रकुमार राईलाई गएराति नै नियन्त्रणमा लिएका छौँ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।”

खुकुरी प्रहारका घटनामा नइन्द्रकुमारका श्रीमती अञ्जना, सासू सेवन्ता र साली टेमिनाको टाउकोको पछाडिपट्टी र हात तथा सालो नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । घाइतेमध्ये सालो नरेन्द्रको अवस्था मध्यम रहेपनि पीडक नइन्द्रकुमारले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले ससुराली गएर खुकुरी प्रहार गरेको पीडित परिवारको आरोप छ ।

रातको समयमा अन्दाधुन्द भएको खुकुरी प्रहारका घटनाको बारेमा करिब १५ मिनेटपछि प्रहरी चौकी च्यास्मीटारले खबर पाएलगत्तै घटनास्थल पुग्दा आरोपित नइन्द्रकुमार फरार भएकोमा खोजतलास गरेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घरभित्र सुतिरहेको अवस्थामा मरनासन्न हुनेगरी अन्दाधुन्द खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त भएको स्थानीयले बताएका छन् ।

नेपाली सेनाको पोखरा पृतना ब्यारेकमा कार्यरत पीडक नइन्द्रकुमार दशैँ मनाउन घर आएको अवस्थामा घटना भएको जनाइएको छ । आफ्नो घर जारबुङमा दशैँ मनाएर ससुराली घर आहाले गएको अवस्थामा श्रीमतीसँग घरायसी विवाद हुँदा नइन्द्रकुमारले अन्दाधुन्द खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् ।

च्यास्मीटारमा भएको घटनाको अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । आरोपित नइन्द्रकुमार र श्रीमती अञ्जनाबीचको आपसी विवादका कारण खुकुरी प्रहारसम्मका घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया