खोटाङ, ९ कातिक । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली आहालेमा गएराति करिब साढे १२ बजे खुकुरी प्रहार गर्दा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासू सेवन्ता राई र २५ वर्षीया साली टेमिना राई गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल, दुर्छिममा प्रारम्भिक उपचारपछि काठमाडौँ रिफर गरिएको थियाे । घरायसी विवादमा खुकुरी प्रहार हुँदा गम्भीर घाइते बनेका उनीहरुलाई रु तीन लाख ३० हजारमा श्री एयरलाइन्सको हेलिकोप्टर चार्टरगरी थप उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिकल कलेज लगिएको हो ।
खुकुरी प्रहारबाट अञ्जना, सेवन्ता र टेमिनाको टाउकोको पछाडिपट्टि तथा हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् । घटनामा घाइते भएका सालो नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको जनाइएकाे छ ।
नेपाली सेनाको पोखरास्थित पृतना ब्यारेकमा कार्यरत नइन्द्रकुमार दसैँ मनाउन घर आएको अवस्थामा घटना भएको स्थानीयले बताएका छन् । आफ्नो घर जारबुङमा दसैँ मनाएर ससुराली आहाले गएको अवस्थामा श्रीमतीसँग घरायसी विवाद भएपछि नइन्द्रकुमारले अन्धाधुन्ध खुकुरी प्रहार गरेको सालो नरेन्द्रले जानकारी दिनुभएको छ ।
नइन्द्रकुमारले सामूहिक हत्या गर्ने उद्देश्यले ससुराली पुगेर खुकुरी प्रहार गरेको पीडित परिवारको आरोप छ । रातको समयमा अन्दाधुन्द भएको खुकुरी प्रहारका घटनाको बारेमा करिब १५ मिनेटपछि प्रहरी चौकी च्यास्मीटारले खबर पाएलगत्तै घटनास्थल पुग्दा आरोपित नइन्द्रकुमार फरार भएकोमा खोजतलास गरेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घरभित्र सुतिरहेको अवस्थामा मरनासन्न हुनेगरी अन्दाधुन्द खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त भएको स्थानीयले बताएका छन् । घटनापछि पक्राउ परेका नइन्द्रकुमारलाई पीडित पक्षले जाहेरी दिएपछि कारबाहीको प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय खाेटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएकाे छ ।


