खोटाङ, १६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले भोटेकोशी बाढीपीडितका लागि राहत रकम पठाएको छ । राप्रपा खोटाङले २५ जना नेता तथा कार्यकर्ताबाट सङ्कलन गरेको रु २८ हजार १०० राहत रकम आज (मङ्गलबार) जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो ।
बाढीपीडितका लागि सङ्कलित नगद रकम प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राई ‘जीवन’ले जानकारी दिनुभएको छ । भोटेकोशी बाढीपीडितका लागि संस्थागत रुपमा राहत रकम उपलब्ध गराउनेमा राप्रपा खोटाङ जिल्लामा पहिलो पार्टी बनेको छ ।
राप्रपा खोटाङले उपलब्ध गराएको नगद राहत रकम मङ्गलबार नै प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिनुभएको छ । “जिल्लामा अहिलेसम्म राप्रपा बाहेक अन्यले संस्थागत रुपमा बुझाएका छैनन् । राष्ट्र सेवक कर्मचारीहरुको सिस्टमबाटै कटाएर उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “देशमा आइपरेको महाविपत्तिमा सबैको सहयोग अपरिहार्य छ । यो महाविपत्तिमा सबैले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न अनुरोध छ ।”
यही भदौ–१० गते भोटेकोशीमा आएको भीषण बाढीपछि खोटाङका दश जना जिल्लावासी सम्पर्कविहीन बनेको जनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३२ वर्षीय पवन खत्री र सोही नगरपालिका–१५ विजयखर्कका ४३ वर्षीय कविन राई, ऐसेखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित लबुवाका ५३ वर्षीय युवराज राई र ३३ वर्षीय यशबहादुर राई वडा नं. ४ जलेश्वरीका ४१ वर्षीय बालकुमार तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २२ वर्षीय सुरज परियार, वडा नं. ११ राजापानीका २५ वर्षीय विपन विश्वकर्मा, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका ३० वर्षीय प्रज्ञान राई र पूख्र्यौली घर रावाबेँसी गाउँपालिका–३ लामीडाँडा भइ राजधानी काठमाडौँ बस्दै आउनुभएका पुष्प भट्टराई सम्पर्कविहीन हुनुभएको हो ।
चीनतर्फबाट आएको भीषण बाढीपछि सम्पर्कविहीन बन्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सूर्जबहादुर परियार र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका ६० वर्षीय तारानाथ थापा सम्पर्कमा आउनुभएको पारिवारिक स्रोतले जनाएको । विभिन्न पेसा÷व्यवसायका लागि रसुवा, धादिङ, नुवाकोट, चितवन लगायत बाढी प्रभावित क्षेत्रमा रहेको अवस्थामा आफन्त सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरुले तत्काल खोजी तथा उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
ठूलोमात्रामा जनधनको क्षति गर्नेगरी भोटेकोशीमा आएको भीषण बाढीपछि खोटाङ घर बताउने ३२ वर्षीय अशिम राईलाई उद्दार गरेर नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा राखिएको जनाइएको छ । ब्यारेकमा राखिएका अशिमका आफन्त अहिलेसम्म सम्पर्कमा नआएकाले सोधखोज गरेर परिवारसँग सम्पर्क गराइदिन जिल्ला प्रशासन कार्यालय खोटाङले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय खोटाङले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरुलाई सम्पर्क गरेर उनीहरुको अवस्था यकिन गर्न जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनका प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले जारी गर्नुभएको सूचनामा सम्पर्कविहीन व्यक्तिको बारेमा जिल्ला प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरेको हो ।


