खोटाङ, १५ भदौ । जिल्लाका तीन स्थानीय तहका अतिविपन्न नागरिकका लागि देशका विभिन्न अस्पतालले स्वास्थ्य उपचारमा सहुलियतमा सेवा दिने भएको छ । हलेसी तवाचुङ नगरपालिका तथा खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाका अतिविपन्न नागरिकलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल र नोवेल मेडिकल कलेज विराटनगरले उपचारमा ५० प्रतिशतसम्म सहुलियत दिने भएको हो ।
काठमाडौँस्थित सिनामङ्गलमा प्रधान कार्यालय रहेको केएमसी अस्पतालले विभिन्न शाखामार्फत सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने स्थानीय तहसँग गरिएको सम्झौतामा उल्लेख छ । स्थानीय तहसँगको सम्झौताअनुसार केएमसीले सिनामङ्गलमा उपचार गराउन आउने नागरिकका लागि २५ प्रतिशत तथा दुवाकोट भक्तपुरमा आउनेका लागि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले नोवेल मेडिकल कलेज विराटनगरमार्फत समेत अतिविपन्न नागरिकका लागि उपचारमा सहुलियत दिलाउने विषयमा सम्झौता गरेको छ । जिल्लाको दोस्रो ठूलो स्थानीय तह (एघारवटा वडा रहेको) यो नगरपालिकाका नागरिकलाई नोवेल मेडिकल कलेज विराटनगरले २० प्रतिशत सुहलियत दिने भएको हो ।
अतिविपन्न वर्गका २० जना नागरिकलाई केएमसी अस्पताल दुवाकोट भक्तपुरमा एक वर्षसम्म स्वास्थ्य उपचारमा सतप्रतिशत छुट उपलब्ध हुने व्यवस्था मिलाइएको नगरप्रमुख बिमला राईले जानकारी दिनुभएको छ । “नगरपालिकामा निर्माणाधीन आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन । नागरिकहरु उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “आफ्नै खर्चमा स्वास्थ्य उपचार गराउन सक्ने सबै नागरिकको अवस्था छैन । उपचार नपाएर आफ्नो नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर काठमाडौँ मेडिकल कलेज र नोवेल मेडिकल कलेजसँग सहुलियतमा उपचारको व्यवस्था मिलाएका हौँ ।”
खोटेहाङ गाउँपालिकाले ग्लोबल मेडिकल कलेज विराटनगर र काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुरमा ५० प्रतिशत सहुलियतका लागि सम्झौता गरेको छ । अतिविपन्न नागरिकको स्वास्थ्य उपचारमा सहुलियत दिलाउन दुवै अस्पतालमा एक वर्षका लागि सम्झौता गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ ।
उता, जन्तेढुङ्गा गाउँपालिकाले पनि दुई अस्पतालसँग सम्झौता गरेको छ । बिरामी परेका आफ्नो नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा प्रदानका लागि गाउँपालिकाले काठमाडौं मेडिकल कलेज र नोवेल मेडिकल कलेज विराटनगरसँग सम्झौता गरेको हो ।
गाउँपालिकाभित्रका अतिविपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा उपलव्ध गराउन गत साउन–२६ गते एक वर्षका लागि दुई अस्पतालसँग सम्झौता गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभएको छ । उपचारमा सहुलियत दिने विषयमा अस्पतालसँग गरिएको सम्झौताअनुसार सेवा लिने नागरिकले स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ ।
जिल्लाका अन्य स्थानीय तहलेसमेत अतिविपन्न आफ्ना नागरिकका लागि स्वास्थ्य सेवामा सहुलियत दिलाउन विभिन्न अस्पतलसँग पहल गरिरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध हुने अस्पताल तथा दक्ष जनशक्ति नहुँदा उपचारमा सुविधा सम्पन्न अस्पताल लैजानका लागि बिरामीका आफन्तले चर्को शुल्क तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ ।
वि.सं. २०४९ वैशाख–१ गते १५ शय्या क्षमतामा स्थापना गरिएको जिल्ला अस्पताल खोटाङलाई वि.सं. २०८२ असार–२२ गते ५० शय्याको सेवा विस्तार गरिएको भनिएको थियो । कोशी प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा विस्तारको घोषणा गर्नुभएको जिल्ला अस्पतालमा अहिलेसम्म उक्त सेवा उपलब्ध नरहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
अस्पताल स्थापना भएको ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नतिको घोषणा गरिएको अस्पतालका लागि निर्माणाधीन भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन । निर्माणाधीन अस्पताल भवनको काम सम्पन्न नभइ हचुँवाको भरमा ५० शय्याको सेवा शुभारम्भ गरिएको भन्दै स्थानीयले जिल्लामा हुने सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल फेसबुकमा बिरोध जनाइरहेका छन् ।


