शिक्षक राईको हत्या आरोपमा पक्राउ परेका ११ जना आरोपितको नामावली सार्वजनिक

Halesi Khabar

खोटाङ, १४ भदौ । केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिटगरी हत्या गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ११ जना आरोपितको नामावली प्रहरीले सार्वजनिक गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लाग्ने भदौरे मेला घुम्न जानुभएका ३९ वर्षीय शिक्षक राईको कुटपिटगरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ जना आरोपितको नामावली जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार सार्वजनिक गरेको हो ।

शिक्षक राईको हत्या आरोपमा पक्राउ पर्नेमा एउटै गाउँ सुङ्देलका २१ वर्षीय प्रबेस भनिने सागर कोयी राई, मौली भनिने २१ वर्षीय प्रतीक राई, माइकल भनिने २५ वर्षीय निशान राई, २३ वर्षीय सुशिल राई, शेरबहादुर भनिने ३२ वर्षीय अमर राई, उमेश भनिने ३० वर्षीय उमेश दुमीराई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई रहेका छन् । पक्राउ परेका उनीहरु सबै जनालाई भदौ–१४ गते (आइतबार) जिल्ला अदालत भोजपुरमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिनुभएको छ ।

आरोपितहरुले शिक्षक राईलाई पूरानो रिसिइबीमा विवाद उठाएर कुटपिटगरी हत्या गरेको पुष्टि भएपछि ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शिक्षक राईको यही भदौ–११ गते राति ११ बजेर ४५ मिनेट जाँदा आफ्नै गाउँलेको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि भदौ–१२ गते ११ जनालाई पक्राउ गरिएको जनाइएको छ ।

राहत कोटाको निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राई लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै भदौ–११ गते (बिहीबार) बिहान गाउँबाट हिड्नुभएको विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले जानकारी दिनुभएको छ । सङ्खुवासभा जाने भनेर घरबाट हिँड्नुभएका शिक्षक राई सिधै सोही दिन बेलुका धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी पुग्नुभएको अवस्थामा विवाद भएपछि सामुहिक कुटपिटबाट हत्याको घटना भएको प्रहरीले जनाएको छ ।

छिमेकीको सामुहिक कुटपिटबाट हत्या गरिएका शिक्षक राई र सुङ्देलकै माइकल भनिने निशान राईको बीचमा भदौ–११ गते साँझ सालपा पोखरी नजिकै माबुमा लागेको धार्मिक मेलामा विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन् । पूरानो रिसिइबीको आधारमा माइकलसँग साँझ विवाद भएपछि उनैले राति योजनावद्ध तरिकाले गाउँले उठाएर कुटपिटगरी शिक्षक राईको हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन् ।

मृतक शिक्षक राई र माइकलको बीचमा यसअघि पनि गाउँमा पटक–पटक विवाद तथा झगडा हुँदै आएको छिमेकीहरुले बताएका छन् । शिक्षक राईको हत्या आरोपमा एउटै गाउँका ११ जना व्यक्ति एकैसाथ पक्राउ परेपछि गाउँमा तनाव सिर्जना भएको स्थानीयले बताएका छन् ।

खोटाङका शिक्षक राईको हत्या भएको क्षेत्र भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सबै प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्ने कानूनी व्यवस्था छ । भोजपुरमा भएको घटनाको विषयमा थप अनुसन्धानका लागि सहयोग गर्नुपरेको खण्डमा जिल्लाबाट सहयोग गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया