खोटाङ, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ः०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको र २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीका कारण चितवनमा सबैभन्दा बढी २५९, नवलपरासी पूर्वमा १८४, रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोर्खामा ५८, नवलपरासी पश्चिममा ८२ तथा तनहुँमा ३६ जनाको शव फेला परेको छ ।
बाढीका कारण सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी तथा विदेशी पर्यटकसहित कुल २४९८ जना सम्पर्कविहीन छन् । जसमा नेपाल प्रहरीका २७, नेपाल सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ४, जलविद्युत् आयोजनाका ९३३, रसुवाका ५६२ र नुवाकोटका ११५ जना रहेका छन् ।
यसैगरी, ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै घुम्न गएका १२७ जना नेपाली पनि बेपत्ता रहेका छन् । घटनामा २४२ जना घाइते भएका छन्, जसमध्ये केहीको उपचार भइरहेको छ भने केही डिस्चार्ज भइसकेका छन् । बाढी प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा १९ हजार ८९५ जना सुरक्षाकर्मी (नेपाल प्रहरी ७ हजार २९३, नेपाल सेना ८ हजार ३९९ र सशस्त्र प्रहरी ४ हजार २०३) खटाइएको छ । सुरक्षा निकायले हालसम्म ८ हजार १८६ जनाको सफलतापूर्वक उद्धार गरेका छन्, जसमा नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरीले २ हजार५१३ जनाको उद्धार गरेका हुन् । जलविद्युत्को सुरुङबाट आज बिहान १९१ जना र भदौ १३ गते ८८ जना गरी कुल २७९ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । २२७ जना विदेशी नागरिकको पनि हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत वितरण गरेको छ । साथै, ३७ ट्रक तथा ७ वटा हेलिकोप्टर उडानमार्फत खाद्य र गैरखाद्य सामग्री र सञ्चार सेटहरू प्रभावित क्षेत्रमा पठाइएको छ । नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ । १४ हजार लिटर हवाई इन्धन मौज्दात रहेको र २५ हजार लिटर खपत भएको जनाइएको छ ।
शवहरूको पहिचानका लागि २१ अस्पतालमा राखिएको छ । पहिचान नखुलेका शव र बेपत्ताको विवरण प्राधिकरणको आधिकारिक फेसबुक पेज तथा नेपाल प्रहरीको वेबसाइटबाट हेर्न सकिनेछ ।


