खोटाङ, १३ भदौ । गाई जात्रालाई विशेषगरी व्यङ्ग्य प्रहार गर्ने दिनको रूपमा चिन्ने गरिन्छ । नेवार समुदायको प्रमुख चाड गाई जात्राको अवसरमा सरकार, नेता तथा सामाजिक कूरीतिका विरुद्ध व्याङ्ग्य प्रहार गर्ने प्रचलन छ ।
नेवार समुदायको घनाबस्ती रहेको ठाउँहरुमा हरेक वर्ष गाई जात्रा मनाउने प्रचलन छ । धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाई जात्राको अवसरमा दर्शकलाई मनोरञ्जन दिलाउन लाखे नाचसमेत प्रदर्शन गरिन्छ ।
गाई जात्रामा वर्ष दिनभित्र मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै चिर शान्तिको कामनासहित पूजाआजा गर्ने प्रचलन छ । यही प्रचलन अन्तरगत शनिबार दिनभर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा गाई जात्राको रौनक छाएको थियो ।
दिक्तेल बजारका नेवार समुदायले दिवङ्गत भएका आफ्ना पितृगणको सम्झना गर्दै टोलटोलमा घुमेर लाखे नाचसँगै सापारु (दिवङ्गत भएका व्यक्तिको तस्वीरसहितको खट’ परिक्रमा गाएर पूजाआजा गरेका छन् । बजार परिक्रमा गराइएका सापारुमा आफन्तजनले पूजाआजा गर्नुका साथै मृतकको जीवनी समेटिएको रामायण वाचन गर्ने चलनले जात्रामा सहभागी धेरैको ध्यान केन्द्रित गरेको थियो ।
बाजागाजासहित लयवद्ध तरिकाले वाचन गरिने दिवङ्गत आफन्तको जीवनी समेटिएको रामायण सुन्दा धेरैको आँखा रसाएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा मनाइएको गाई जात्रामा यस वर्ष छ जना मृतक आफन्तको सापारु प्रिक्रमा गरिएको नेवाः देय् दबूका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभएको छ ।
दिक्तेल बजारमा मनाइने लाखे जात्राको मुख्य आकर्षण मुकुण्डोधारी लाखे नाच हुने गरेको छ । ढोल, झ्याम्टाको तालमा जातीय सँस्कृति र परम्पराहरुको नक्कल गर्दै मुकुण्डोधारी लाखे नाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् ।
जामा, चोली, चमर, मखुण्डो र घङला पहिरिएर लाखे बन्ने व्यक्तिले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर बस्ने प्रचलन गरेको जनाइएको छ । लाखेसँगै अघिपछि नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन दिलाउने गर्दछ ।
नागपञ्चमीदेखि कृष्णजन्माष्टमीसम्म मनाइने लाखे जात्रालाई जिल्लाका नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । लाखे जात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुखका कुराहरु आदानप्रदानसमेत गर्ने गर्छन् ।
लाखे जात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ । आफन्तजन, इष्टमित्र, साथीभाइ लगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् ।
अध्ययन, जागिर तथा विभिन्न पेशा/व्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्यहरु पनि लाखे जात्राको अवसरमा एक ठाउँ भेला हुने गरेको छन् । लाखे जात्राले साँस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्वसँगै नेवार र गैंरनेवार समुदायबीच आपसी सद्भाव तथा भातृत्व कायम गरेको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले बताउनुभएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा लाखे जात्रा, गाई जात्रा, हिले जात्रा, रोपाइँ जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायत विभिन्न जात्राहरु मनाउने चलन रहिआएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण जात्रा गरेपछि कृष्णले राक्षस, भूत–प्रेत आदि मारेकोले लाखे ख्याली, आदि भूत–पिचास, नागको भय हुँदैन भन्ने जनविश्वास छ ।
नागपञ्चमीबाट औपचारिक रुपमा सुरु गरेर विशेष तरिकाले मनाइने लाखे जात्रा कृष्णाष्टमीको भोलिपल्ट नदीमा गएर विधिवत् रुपमा समापन गर्ने चलन रहिआएको छ । नेवार समुदायको महान चाड लाखे जात्राले जिल्लामा व्यापार/व्यवसायलाई समेत सघाउ पुग्ने गरेको खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।
भाद्र कृष्ण षष्ठीको अवसर पारेर यही भदौ–१७ गते जिल्लाभरका नेवार समुदायले दिक्तेल बजारमा लाखे प्रदर्शन गर्ने तयारी गरेका छन् । लाखे जात्रा दिक्तेल बजार, बुइपा, ऐसेलुखर्क, खोटाङबजार, चिसापानी, अर्खौले, खार्मी, दोर्पाचिउरीडाँडा लगायत नेवार समुदायको घना बस्ती भएको ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ ।


