खोटाङ, १२ भदौ । धार्मिक मेला भरेर घर फर्कदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कदै गरेको भक्तजन चढेको ना ५ त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं. २ सोल्मास्थित छेपेखोलामा दुर्घटना भएको हो ।
गुडिरहेको ट्याक्टरको पछाडिको भाग बीच सडकमा घोप्टिएर भएको दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभएको छ । “दुर्घटनाका सबै घाइतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल दिक्तेल ल्याएका छौँ । अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन”, उहाँले भन्नुभयो, “पाँच जनाको अवस्था गम्भीर छ । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले २० जनालाई थप उपचारको लागि काठमाडौँ रिफर गरिसकेको छ । १४ जनाको यही उपचार भइरहेको छ ।”
अस्पतालले रिफर गरेका घाइतेहरुलाई एम्बुलेन्स तथा सुमो जिपहरु रिजर्भ गरेर उपचारमा पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । “दिउँसोदेखि जिल्लामा भीषण वर्षा भइरहेको छ । निरन्तरको वर्षाले उद्धारमा समेत समस्या भयो”, उहाँले भन्नुभयो, “निरन्तरको वर्षाका बाबजुद नगरपालिकाको एम्बुलेन्स तथा सुमोहरु रिर्जभ गरेर घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । राति अबेरसम्ममा काठमाडौँ पु¥याएर थप उपचार सुरु हुन्छ ।”
घाइतेहरुको टाउको, हातखुट्टा तथा शरीरको विभिन्न भागमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । भक्तजना चढेको ट्याक्टर दुर्घटना दिउँसो करिब २ः०० बजेको समयमा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
ट्याक्टर दुर्घटना लगत्तै चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङतर्फबाट दिक्तेल आउँदै गरेको खाली ट्याक्टर रोकेर भक्तजनहरु चढेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।


