ट्याक्टर दुर्घटना अपडेट : एकको मृत्यु, १९ जनालाई थप उपचारमा काठमाडौँ पठाइयो

Minakshi Rai

खोटाङ, १२ भदौ । धार्मिक मेला भरेर घर फर्कदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कदै गरेको भक्तजन चढेको ना ५ त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं. २ सोल्मास्थित छेपेखोलामा दुर्घटना हुँदा गम्भीर घाइते बनेका वडा नं. ५ लफ्याङका १४ वर्षीय दिवश परियारको मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटनामा गम्भीर घाइते बनेका परियारलाई घटनास्थलबाट तत्काल प्रहरीले उद्धार गरेर थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । दुर्घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौँ लैजानेक्रममा बाटैमा मृत्यु भएका परिवारको शव परीक्षणका लागि पुनः फर्काएर जिल्ला अस्पताल खोटाङ ल्याइएको छ ।

दिउँसो करिब २ः०० बजे भएको दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ४५ वर्षीय सविन तिरुवा, नौँ वर्षीय योनिस विश्वकर्मा र ३५ वर्षीया बिमला विश्वकर्माको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनीहरुको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ ।

एउटै गाउँ (लफ्याङ)का करिब ४० जना स्थानीय धार्मिक मेला भरेर फर्किनेक्रममा ट्याक्टर रोकेर चढेको अवस्थामा दुर्घटना हुँदा घाइते भएकामध्ये १६ जनाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । घाइते सबैलाई जिल्ला अस्पताल दिक्तेलमा लगेर सामान्य उपचार गरेपछि अस्पतलालले थप उपचारका लागि काठमाडौँस्थित काठमाडौँ मेडिकल कजेज (केएमसी) अस्पतालमा रिफर गरेको प्रहरीले जनाएको छ ।

अस्पतालले काठमाडौँ रिफर गरेका घाइतेहरुमा ३० वर्षीया लिला श्रेष्ठ, ५७ वर्षीया लुलादेवि विश्वकर्मा, ५० वर्षीया राजन विश्वकर्मा, ५१ वर्षीय रामबहादुर विश्वकर्मा, ३४ वर्षीय सीताराम विश्वकर्मा, १८ वर्षीय मन्दिप तिरुवा, २३ वर्षीय नविन परियार, १२ वर्षीय न्युकेश तिरुवा, ३५ वर्षीय बुडीराम विश्वकर्मा, २१ वर्षीय मनिका परियार, ४० वर्षीया बिना परियार, १४ वर्षीया दिपसना परियार, १८ वर्षीया निशा परियार १७ वर्षीया चन्द्रकला विश्वकर्मा, १६ वर्षीय युकेश तिरुवा रहनुभएको छ । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेपनि स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै उद्धार गरेर अस्पताल भर्ना गरिएका घाइतेहरुलाई अस्पतालले रिफर गरेपछि एम्बुलेन्स तथा सुमो जिपहरु रिजर्भ गरेर उपचारका लागि काठमाडौँ पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । “दिउँसोदेखि जिल्लामा भीषण वर्षा भइरहेको छ । निरन्तरको वर्षाले उद्धारमा समेत समस्या भयो”, उहाँले भन्नुभयो, “निरन्तरको वर्षाका बाबजुद नगरपालिकाको एम्बुलेन्स तथा भाडाका सुमोहरु रिर्जभ गरेर घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । राति अबेरसम्ममा काठमाडौँ पु¥याएर थप उपचार सुरु हुन्छ ।”

गुडिरहेको ट्याक्टरको पछाडिको भाग पल्टिएर भएको दुर्घटनाका अन्य १४ जना घाइते जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । ट्याक्टर दुर्घटनालगत्तै ट्याक्टरका चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको चखेवाभञ्ज्याङतर्फबाट दिक्तेल आउँदै गरेको खाली ट्याक्टर रोकेर भक्तजनहरु चढेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दुर्घटनापछि दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको र उठाएर सुरक्षित स्थानमा सार्नका लागि पहल भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया