खोटाङ, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाको अवसर पारेर जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरुमा आयोजना गरिएको मेलामा धामीझाँक्रीसहित दर्शनार्थी तथा भक्तजनको भीड लागेको छ । ढोल/झ्याम्टा तथा ढ्याङ्ग्रो र थालको तालमा ‘सै राजा सै–सै, सै रानी सै–सै’ बोलको गीत गाउँदै धार्मिक एवम् पर्यटकीयस्थलहरुमा ढोलेतालेसहित पुगेका धामीझाँक्रीहरु पूजाआजा गर्दै नाचिरहेका छन् ।
साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्रीहरु श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाउनुका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गर्ने प्रचलन छ । महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने धार्मिक मान्यता रहिआएको छ ।
परापूर्वकालदेखि मानिँदै आएको धार्मिक मान्यताअनुसार धामीझाँक्रीहरु श्रावण शुक्ल पूर्णिमाको अवसर पारेर जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थलहरुमा नुहाउन तथा पूजाआजा गर्न जाने गरेका छन् । पूजाआजा तथा झारफुक नगरी महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्रीहरु धार्मिक तथा पर्यटकीयस्थलहरुमा गएर नुहाएपछि बिद्धेसमेत वृद्धि हुने विश्वास गर्छन् ।
धार्मिक तथा पर्यटकीयस्थलहरुमा बराहपोखरी, भुलभुले दूधकुण्ड, साप्सुधाप, कान्छी सालपा, भालुखोला, होङ्मा पोखरी, जन्तेढुङ्गा, बर्मेधारा लगायतका आज (शुक्रबार) बिहानैदेखि धामीझाँक्रीको बृहत् मेला लागेको छ । धार्मिक तथा पर्यटकीयस्थलहरुमा लाग्ने धामीझाँक्री मेलामा रमिता हेर्ने सर्वसाधारण तथा पूजाआजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति रहेको स्थानीयवासीले बताएका छन् ।
धार्मिक तथा पर्यटकीयस्थलहरुमा आयोजित धामीझाँक्री मेला भर्न आउने सर्वसधारणका लागि होटल तथा पसलहरुसमेत सञ्चालन गरिएका छन् । जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलहरुमा शुक्ल पूर्णिमाको अवसर पारेर पूजाआजासहित नुहाउँदा रोगव्याधी हट्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक रहेको मुडेस्थित धार्मिक एवम् पर्यटकीयस्ल भालुखोलामा हिजो (बिहीबार)देखि नै धार्मिक मेला लागेको छ । ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच्ने भालुखोलामा बुढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहने गरेको छ ।
परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरेमा रोगकष्ट निको हुने जनविश्वास रहिआएको स्थानीय सीताराम राईले बताउनुभएको छ । श्रावण शुल्क पूर्णिमाको अवसरमा वर्षेनी ठूलो मेला लाग्ने धार्मिक एवम् पर्यटकीयस्थल भालुखोलामा विभिन्न मनोकाङ्क्षा लिएर विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् ।
श्रावण शुल्क पूर्णिमाको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएकाले पनि धार्मिक तथा पर्यटकीयस्थलहरुमा लाग्ने धार्मिक मेला हेर्न तथा पूजाआजा गर्ने दर्शनार्थी एवम् भक्तजनको सङ्ख्या वृद्धि भएको पाइएको छ । जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलहरुमा गएर दिनभर नाचगान गरेका धामीझाँक्रीहरु बेलुका घर फर्किएर सामुहिक तथा एकलरुपमा देवीदेवताको पूजाआरधानासहित रातभर चिन्ता बस्ने (ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) गर्छन् ।
छरछिमेकका स्थानीय बासिन्दाले धामीझाँक्रीको शीर उभ्याउनी (पैसा र रक्सीको कठुवा चढाएर ढोग्ने काम)समेत गर्ने प्रचलन रहिआएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दीलकुमार राईले बताउनुभयो । पछिल्लो समय धार्मिकस्थलहरुको महत्व बढ्दै गएपछि जिल्लास्थित दशवटै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिकस्लहरुको स्तरोन्नति तथा प्रवद्र्धन गरिरहेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लाखौँ रकम खर्चिएर साप्सुधाप र भुलभुले दूधकुण्डको स्तरोन्नति गरेको छ । देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति एवम् प्रवद्र्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै स्थानीय बासिन्दाहरुले बताएका छन् ।
जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति एवम् प्रवद्र्धन गरेर आन्तरिक आयस्रोत वृद्धि गर्ने स्थानीय सरकारको लक्ष्य रहेको छ । पछिल्लो समय जिल्लाका हरेक स्थानीय तहमा धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति तथा संरक्षण एवम् पवद्र्धनमा स्थानीयवासीसमेत जुटेका छन् ।


