खोटाङ, १० भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज (बिहिबार)कोशी कटान क्षेत्रको अनुगमन निरीक्षण गर्नुभएको छ । उहाँले बराहा क्षेत्र नगरपालिका ९ र ६ नम्बर वडामा भइरहेको कटान र त्यसले पारेको प्रभावका बारेमा स्थलगत निरीक्षण गर्नुभएको हो ।
कोशी प्रदेश सरकारका मन्त्री प्रदेश सभाका सदस्यहरू, स्थानीय प्रशासन तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागितामा अनुगमन निरीक्षण गरिएको हो । अनुगमन निरीक्षण गर्नुहुदै मुख्यमन्त्री कार्कीले प्रदेशले तत्कालीन तटबन्ध निर्माण गर्न आवश्यक रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । \
पछिल्लो समय कोशी नदीले उदयपुर क्षेत्रतिर धार परिवर्तन गर्न थालेपछि कोशी पारी रहेका बराह क्षेत्र नगरपालिकाको ९ र ६ वडा प्रभावित भएका छन् भने उदयपुरको बेलका नगरपालिका पनि प्रभावित बन्न पुगेको छ । स्थानीय जनप्रतिनिधिहरुले बालुवाको बोरा सहितको अस्थायी तटबन्ध बनाउन सेना प्रहरीको सहयोग र समन्वयको लागि पनि मुख्यमन्त्रीसँग आग्रह गरेका छ्न ।
मुख्यमन्त्री कार्कीले पछिल्लो समय नदी किनाराका बस्तीहरूमा जोखिम बढ्दै गएकाले त्यस क्षेत्रका नागरिकलाई सुरक्षित र सतर्क रहन समेत आग्रह गर्नुभएको छ ।


