खोटाङ, १३ भदौ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिटगरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसर पारेर लाग्ने मेला भर्न गएको समयमा बिहीबार राति भएको बिबादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिक्षक राईको ज्यान जानेगरी कुटपिटमा संलग्न सुङ्देलकै ११ जना व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभएको छ । “घटनास्थलसम्म पैदल जानुपर्छ । त्यस क्षेत्रमा टेलिफोनको नेटवर्ककलेसमेत काम गर्दैन । घटनाको विषयमा थप विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका छौँ । घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप कुरा खुल्छ । आरोपितसहित घटनालस्थलबाट हिँडेका प्रहरी टोली आज (शनिबार) बेलुकासम्ममा जिल्ला प्रहरी कार्यालय भोजपुर आइपुग्ने अनुमान गरेका छौ ।”
राहत कोटाको निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राईको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि अहिलेसम्म विवरण खुलाएको छैन । शिक्षक राईको हत्या सामुहिक कुटपिटबाट भएकाले घटनाका दोषी कोही पनि उम्कन नदिनेगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ऋषितर्पणी पूर्णिमादेखि लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै शिक्षक राई बिहीबार गाउँबाट हिड्नुभएको विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले बताउनुभएको छ । सङ्खुवासभाबाट फर्किएर सालपा पोखरी पुग्नुभएका शिक्षक राई बिहीबार राति गाउँलेहरुसँग बास बस्नुभएको जनाइएको छ ।
सालपा पोखरी नजिकै आयोजना गरिएको धार्मिक मेला भर्नेक्रममा बिहीबार दिउँसो सुङ्देलकै माइकल भनिने निशान राईसँग विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसोको विवादपछि राति योजनावद्ध तरिकाले गाउँले उठाएर कुटपिटगरी शिक्षक राईको हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन् ।
घटना भएको क्षेत्र भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सबै प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्ने कानूनी व्यवस्था छ । घटनाको विषयमा थप सहयोग गर्नुपरेको खण्डमा जिल्लाबाट सहयोग गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ ।


