खोटाङ, २५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको पीडा महसुस गर्न नसकेको आरोप लगाउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले जनताले देशमा सुरक्षा, न्याय र आवश्यक सेवा–सुविधा पाउन नसकेको बताउनुभएको छ । ग्यासका लागि समेत घण्टौँ घाममा उभिनुपर्ने अवस्था रहँदा सरकारले जनताको पीडा महसुस गर्न नसकेको उहाँको भनाइ थियो ।
ठूलो आशा र अपेक्षाका साथ जनताले वर्तमान सरकारलाई मत दिए पनि सरकारले अपेक्षाअनुसार परिवर्तन ल्याउन नसकेको साम्पाङले बताउनुभएको छ । सरकारका मन्त्रीहरूबीच नै आवश्यक समन्वय र विश्वासको कमी देखिएको उहाँको आरोप थियो ।
देशभित्र पर्याप्त अवसर सिर्जना हुन नसक्दा युवाहरू विदेशिन बाध्य भएको भन्दै उहाँले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रण गर्न तथा ठगीमा संलग्नलाई कारबाही गर्न सरकार असफल भएको बताउनुभएको छ ।
अध्यक्ष साम्पाङले विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको संसद्मा उपस्थित नहुनुलाई उहाँले ‘बालहठ’ र ‘पदीय गैरजिम्मेवारी’को संज्ञा दिनुभएको छ । संसद्प्रति सरकार र प्रधानमन्त्रीको जवाफदेहिता आवश्यक रहेको उनको भनाइ थियो ।


