खोटाङ, २५ साउन । साउनको अन्तिम सोमबार विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको भीड अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा साउन महिनाको अन्तिम सोमबार विशेष पूजाआजा तथा दर्शन गर्न देश तथा विदेशबाट भक्तजनहरु आएका हुन् ।
टाढाटाढाबाट गाडी रिजर्भ गरेर आएका भक्तजनका कारण हलेसी बजार तथा आसपासका क्षेत्रमा समेत बाक्लो चहलपहल बढेको स्थानीयले बताएका छन् । साउन महिनाको अन्तिम सोमबार बिहानैदेखि हलेसी मन्दिर क्षेत्र भक्तजनले भरिभराउ बनेको थियो भने, पूजाआजा तथा दर्शन गर्ने गेरुवस्त्रधारी भक्तजनको घुइँचो लागेको हो ।
साउनको अन्तिम सोमबार दर्शनार्थीको यकिन सङ्ख्या सङ्कलन भइरहेको र प्रारम्भिक अनुमानअनुसार २५ हजार भक्तजनले दर्शन गरेको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभएको छ । “हलेसीमा यस वर्ष विगतका वर्षहरुको तुलनामा दर्शनार्थीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । भक्तजनको चापलाई मध्यनजर गर्दै मन्दिर परिसरमा सुरक्षाकर्मी तथा स्वयम्सेवक परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “दर्शनार्थीको ठूलो आगमनसँगै हलेसी क्षेत्रका होटल, पसल तथा यातायात व्यवसायमा समेत चहलपहल बढेको छ । हलेसीमा यसपटक लागेको भक्तजन तथा दर्शनार्थीको भीड अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।”
सामुहिक रुपमा बोलबम शब्द उच्चारण गर्दै हलेसीको दर्शन गर्न नेपालको तराई क्षेत्रका विभिन्न जिल्ला तथा भारतका भक्तजन बढी आएका छन् । हलेसीमा लागेको बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुरधाम, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक तथा भुटान, चिनको तिब्बत लगायतका देशबाट दर्शनार्थी एवम् भक्तजन आउने गरेका छन् ।
मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसी मन्दिरको प्रमुख गुफाभित्र अवस्थित शिवलिङ्गमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने प्रचलन रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभएको छ ।
प्राकृतिक रुपले समेत विश्वप्रसिद्ध मानिएको त्रिधार्मिकस्ल हलेसीमा विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुख तथा समृद्धिको कामना गर्दै र अविवाहित महिलाले असल श्रीमान पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकांक्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ ।
साउन लागेलगत्तै हलेसीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङको पहिरनमा सजिएका पुरुषको समेत घुइँचो लागेको स्थानीयले बताएका छन् । तराईबाट सिधै कटारी–घुर्मी–जयराम हुँदै हलेसीसम्मको यातायात सेवा बिस्तार भएपछि बोलबमको अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको सङ्ख्या वर्षेनी बढ्दो रहेको स्थानीयले बताएका छन् ।
प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । विशाल चट्टानले बनेको हलेसी गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफनै तरिकाले पूजापाठ गर्ने गरेका छन् ।
हलेसी दर्शन गर्न आएका दर्शनार्थीमध्ये कतिपय दिक्तेल बजारस्थित मझुवा कालिका भगवती मन्दिरमा समेत आएर दर्शन गर्ने गरेको स्थानीयले बताएका छन् । हलेसी आउने दर्शनार्थी तथा भक्तजनले दिक्तेल बजारस्थित मझुवा कालिका भगवती मन्दिरको दर्शन नगरे आफूले चिताएको मनोकांक्षा पूरा नहुने धार्मिक ग्रन्थमा उल्लेख छ ।
बोलबमको अवसर पारेर त्रिधार्मिकस्थल हलेसी आएका अधिकांश दर्शनार्थी तथा भक्तजनहरु यसपटक दिक्तेल बजार आएर बसेका छन् । हलेसी दर्शन गरेर दिक्तेल आएका उनीहरु बेलुका दिक्तेल बजारमा बसेर भोलिपल्ट बिहान सबेरै मझुवा कालिका भगवती मन्दिरको दर्शन गरेर फर्कने चलन छ ।


