मझुवागढीमा दुई सयभन्दा बढी बिरुवा रोपियो

Minakshi Rai

खोटाङ, साउन २५ । सामुदायिक वन दिवस–२०८३ को अवसरमा दिक्तेलस्थित मझुवागढी क्षेत्रमा दुई सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, डिभिजन वन कार्यालय खोटाङ, सामुदायिक वन उपभोक्ता महासंघ तथा जिल्ला महासंघको संयुक्त आयोजनामा मझुवागढीको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो । समी, बगमबेली, कल्की, तेजपात, धुपी, लण्डन पाइनलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख राजन राईले जानकारी दिनुभएको छ ।

दिवसको अवसरमा दिक्तेल बजार परिसरमा ‘गाउँको वन, गाउँको धन, बचाऔँ सामुदायिक वन’ लगायतका सन्देश लेखिएका प्लेकार्डसहित प्रभातफेरी गरिएको थियो । त्यसपछि देवीस्थान परिसरमा सरसफाइ तथा वृक्षरोपण गरिएको हो ।

वन महासंघका केन्द्रीय सदस्य राजेन्द्र राईका अनुसार साउन २५ गते नेपालमा सामुदायिक वन अभियानको ऐतिहासिक सुरुवात भएको दिन हो । “२०३० साल साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा स्थानीय समुदाय र तत्कालीन वन प्रशासनबीच भएको वन संरक्षणसम्बन्धी सहमतिले नेपालमा सामुदायिक वन अभियानको जग बसालेको थियो । नेपाल सरकारले सोही ऐतिहासिक दिनको सम्मानस्वरूप हरेक वर्ष साउन २५ गते सामुदायिक वन दिवस मनाउँदै आएको छ ।” उहाँले भन्नुभयो, “सामुदायिक वनलाई नेपालको सफल कार्यक्रममध्ये एकका रूपमा लिइएको छ । वन संरक्षण, संवद्र्धन र वातावरणीय सन्तुलनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । ”

वन संरक्षणलाई स्थानीय स्रोत–साधनको प्राथमिकतामा राखिएको र हरियाली संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कडेल, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया