२४ साउन, खोटाङ । सभ्यता र संस्कृतिको उद्गम स्थल तुवाचुङमा ३२ औँ विश्व आदिवासी दिवस मनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका भित्र बसोबास गर्ने आदिवासी जनजातीहरुको सांस्कृतिक गित तथा नृत्य प्रस्तुत गरेर आदिवासी दिवस मनाइएको छ ।
“विश्व आदिवासी दिवस २०८३” को अवसरमा हलेसी तुवाचुङ नगरपालिका र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको संयुक्त आयोजनामा तुवाचुङमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राई समुदायले साकेला, नेवार समुदायले लाखे र मगर समुदायले हुरा नाँच प्रस्तुत गरेका थिए । राई समुदायको आदिम भूमी अर्थात सभ्यता र संस्कृतिको उद्गम स्थल मानिने तुवाचुङमा राई, नेवार र मगर तीन आदिवासी जनजाती समुदायको परम्परागत सांस्कृतिक गित तथा नृत्यले गुञ्जयमान भएको थियो ।
कार्यक्रममा राई समुदाय र नेवार समुदायको जातिय पहिचान बोकेको खाजाको परिकारको व्यवस्थासमेत गरिएको थियो । यस्तै, उक्त कार्यक्रममा आदिवासी जनजाती विशेष गरी राई समुदायसँग सम्बन्धित कार्यपत्र टंक थापाले प्रस्तुत गर्नुभएको थियो ।
सम्पूर्ण आदिवासी जनजाती समुदायको मौलिक पहिचान, परम्परागत ज्ञान, भाषा र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उदेश्यले तुवाचुङमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताउनुभएको छ ।
नगर प्रमुख राईको अध्यक्षता, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख रमेश कुमार राउत, प्रदेश सचिव उद्दव प्रसाद रिजाल, हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङ, जनजाती महासंघ खोटाङका अध्यक्ष फुर्वा शेर्पा, नेवाः देय् दबु खोटाङका अध्यक्ष गोपाल श्रेष्ठ लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।


