पूरा सिलिन्डर वितरणसँगै ग्यासको मागमा वृद्धि

Minakshi Rai

२२ साउन, खोटाङ । खाना पकाउने ग्यासको पूरा सिलिन्डर वितरण साउन महिनादेखि सुरु गरेसँगै ग्यासको मागमा एकैपटक वृद्धि भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बताउनुभएको छ । एकैपटक ग्यासको माग बढ्दा बजारमा असहजता देखिएको उहाँको भनाइ छ ।

ग्यासको वितरणमा देखिएको असहजता केही दिनमा समाधान हुने पनि उहाँको भनाइ थियो । ’अघिल्ला वर्षको यसै अवधिमा भएको आयातको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणमा नै ग्यास आयात र वितरण भइरहे पनि २०८३ साउन महिनादेखि पूरा सिलिन्डर वितरण प्रारम्भ भएपश्चात् ग्यासको मागमा एकैपटक वृद्धि हुन गई बजारमा केही असहजता सिर्जना भएको देखिन्छ,’ उहाँले भन्नुभयो । सरकारले ग्यासको आपूर्ति व्यवस्थापन गर्नका लागि काम गरिरहेको पनि मन्त्रीको भनाइ थियो । ’बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ,’ ।

भारतबाट नेपाली जनतालाई आवश्यक पर्ने ग्यास पर्याप्त आयात गर्नका लागि नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिइएको उहाँको भनाइ छ । बजारमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने अवस्थाको अन्त्य गर्नका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको पनि उहाँले जानकारी दिनुभएको छ ।

सरकारले नेपाल आयल निगम तथा ग्यास उद्योगीसँगको समन्वयमा ग्यास आयात, भण्डारण तथा वितरणको कार्यलाई पारदर्शी र अनुमानयोग्य बनाउन लागिएको उहाँले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया