राष्ट्रिय सभामा रुखो अभिव्यक्तिप्रति गृहमन्त्री सुधन गुरुङको माफी

Minakshi Rai

२१ साउन, खोटाङ । गृहमन्त्री सुधन गुरुङले आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै माफी माग्नुभएको छ ।

राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उहाँले आजै केहीबेर अघि सांसदहरूसँग सवालजवाफ गर्नुभएको थियो । सो क्रममा उहाँले आफूलाई निर्मला पन्त हत्याकाण्डको विषयमा प्रश्न नगर्न भन्दै रोष्ट्रमबाटै चेतावनी दिनुभएको थियो ।

उक्त विषयमा आलोचना बढेपछि उहाँले आजै राष्ट्रिय सभाबाट माफी माग्नुभएको छ । ‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौं । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ सांसदहरूलाई सम्बोधन गर्नुहुदैँ उहाँले भन्नुभयो, ‘यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूलाई माफी पनि माग्न चाहन्छु ।’

विपद् व्यवस्थापनको विषयमा छलफल चलिरहँदा निर्मला पन्तको विषयमा कुरा उठेपछि आफ्नो शैली रुखो बन्न पुगेको उहाँको भनाइ थियो ।

‘विपद् व्यवस्थापन विषयमा हामी छलफल गर्दै थियौं । तर विषयकेन्द्रित नभएर विपद् व्यवस्थापनमा निर्मला पन्त हत्याकाण्ड जोडियो । किन यसरी घुमाइन्छ ?,’ उहाँले भन्नुभयो, ‘मलाई यो अचम्म लाइराछ । निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के ? यसमा विषयकेन्द्रित हुनुपर्ला माननीय ज्यू ।’

तपाईको प्रतिक्रिया