२२ साउन, खोटाङ । जिल्लाका सबै स्थानीय तहमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत वार्षिक समीक्षा, प्रतिवेदन संकलन तथा आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजना निर्माण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आयोजना तथा करुणा फाउण्डेसन नेपाल, स्थानीय तहहरू र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले गर्नुभएको थियो ।
सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा सञ्चालित यो कार्यक्रम २०८० माघदेखि जिल्लाका सबै आठ स्थानीय तहमा कार्यान्वयन हुँदै आएको छ । हाल कार्यक्रम तेस्रो वर्षमा प्रवेश गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ देखि मन्त्रालय र स्थानीय सरकारले कार्यक्रमलाई मूलप्रवाहीकरण गर्ने योजना स्वीकृत गरेका छन् ।
कार्यक्रमको उद्देश्य जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता रोकथाम तथा न्यूनीकरण गर्नुका साथै अपाङ्गता भएका व्यक्तिसहितको समावेशी समाज निर्माण गर्नु रहेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को समीक्षा बैठकमा महिला तथा बालबालिका शाखाका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो–आफ्नो पालिकाको प्रगति विवरण प्रस्तुत गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरोकारवालाको भूमिकाबारे छलफल गरेका थिए । साथै आगामी आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजनामाथि पनि विस्तृत छलफल गरिएको फाउन्डेसनका प्रतिनिधि चन्दन रोनियारले बताउनुभएको छ ।
करुणा फाउण्डेसन नेपालको संयुक्त जिल्ला कार्यालयले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार हालसम्म जिल्लाभर ५२८ जना अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको छ । ३८० जना स्वास्थ्यकर्मीलाई जन्मजात दोष पहिचानसम्बन्धी तालिम प्रदान गरिएको छ भने १,२१६ जना नवजात शिशुको जन्मजात दोष परीक्षण गर्दा ६ जनामा जन्मदोष पहिचान भएको र उनीहरूले पहिलो चरणको आवश्यक स्वास्थ्य उपचार सेवा प्राप्त गरेका छन् ।
त्यसैगरी, ३७९ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री उपलब्ध गराइएको छ भने ४११ जनाले विभिन्न प्रकारका स्वास्थ्य उपचार सेवा प्राप्त गरेका छन् । शिक्षाको क्षेत्रमा ७२ जना अपाङ्गता भएका बालबालिकाले घरमै आधारित शिक्षा सेवा प्राप्त गरेका छन् । जीविकोपार्जन सुदृढीकरणका लागि ३३३ जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यलाई सीपमूलक तथा व्यवसायिक तालिम प्रदान गरिएको छ । साथै रातो कार्डवाहक ६९६ जना अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बीमाको पहुँचमा आएको फाउन्डेसनले जनाएको छ ।
कार्यक्रममा सहभागी पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूले अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार, शिक्षा तथा जीविकोपार्जनका अवसर वृद्धि गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
करुणा फाउण्डेसन नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक रुपा शिवाकोटीले हालसम्मको उपलब्धिका लागि सबै पालिकालाई बधाई दिँदै अपाङ्गता भएका व्यक्तिका लागि देखाइएको प्रतिबद्धतालाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको छ । उहाँले करुणा फाउण्डेसन नेपालको बहिर्गमनपछि कार्यक्रमको आन्तरिकीकरण, दिगोपना, हस्तान्तरण योजना तथा प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र अपाङ्गता भएका व्यक्तिका संस्थाहरूको भूमिकाबारे प्रस्तुतीकरण तथा छलफल गर्नुभएको छ ।
सामाजिक विकास मन्त्रालयका प्रतिनिधिले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम समुदायका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका लागि कोसेढुङ्गा सावित भएको उल्लेख गर्दै मन्त्रालय र स्थानीय तहले कार्यक्रमलाई मूलप्रवाहीकरण गर्दै अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समितिका राईले अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमले जिल्लामा सकारात्मक परिवर्तन ल्याएको बताउनुहुदै सबै सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र समान अवसर सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई स्थानीय तहहरूले निरन्तरता दिन आवश्यक रहेको बताउनुभएको छ ।


