प्रदेशमा विपक्षी नै नराखी सरकार बनाउनु ठिक हुँदैन : गगन थापा

Minakshi Rai

२४ साउन, खोटाङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताउनुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्नुुहुदैँ उहाँले प्रदेश सरकारबारे ब्रिफिङ गर्दै यस्तो बत्रताउनुभएको हो ।

उहाँले तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्षबीच भएको समझदारीअनुसार निश्चित समयपछि कांग्रेस नेतृत्वमा रहेको प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेको प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको र सोही सहमति कार्यान्वयन गर्न खोज्दा एमालेसँग कुरा नमिलेको बताउनुभएको छ ।

उहाँले प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने कुरा पार्टी, संघीयता र लोकतन्त्रका लागि उपयुक्त नभएको कारण कांग्रेसले अस्वीकार गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘हामी प्रदेशमा सरकारमा छौँ । केही ठाउँमा अहिले छैनौँ । हामी नेकपा एमालेसँग एउटा सहमतिमा थियौँ सात वटै प्रदेशमा । मधेश प्रदेशमा विशिष्ट अवस्था थियो । त्यहाँ नेकपा, कांग्रेस र एमालेको संयुक्त सरकार थियो । पहिले आदरणीय नेता शेरबहादुर देउवा पार्टी सभापति हुँदै गर्दा उहाँ र एमालेका अध्यक्षबीचमा हस्ताक्षर भएर सरकार बन्दैगर्दा निश्चित समयपछि कांग्रेस भएको ठाउँमा एमाले र एमाले भएको ठाउँमा कांग्रेसले नेतृत्व गर्ने भन्ने सहमति भएको रहेछ । त्यही समझदारीअनुसार गर्ने भनेर हामीबीच छलफल भयो ।’

उहाँले थप्नुभयो, ‘हामीलाई के प्रस्ताव गरियो भने सबै प्रदेशमा कांग्रेस, एमाले र नेकपा मिलाएर संयुक्त सरकार बनाउनुपर्छ भन्ने प्रस्ताव रह्यो । त्यो प्रस्ताव हामीले मानेनौं । प्रदेशमा अपोजिसन नै नराखी तीन पार्टी मिलेर सरकार बनाउने कुरा ठिक हुँदैन । यो पार्टीं, संघीयता र लोकतन्त्रको लागि पनि ठिक छैन ।’

थापाले संघीय सरकार र प्रतिपक्ष भूमिकामा रहेको प्रदेश सरकारमा कसरी अघि बढ्ने भन्नेबारेमा समेत छलफल गर्नुपर्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया