राप्रपा सांसदले मागे लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा

Minakshi Rai

खोटाङ, २५ साउन । राप्रपा सांसद भरत गिरीले लिपुलेक लगायतका सीमा विवाद, राष्ट्रिय सार्वभौमसत्ता र जनजीविकाका विविध सवालमा सरकारको स्पष्ट धारणा माग गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले छिमेकी मुलुकहरूसँगको कूटनीतिक सम्बन्ध र आन्तरिक समस्या समाधानमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । सांसद गिरीले भारतद्वारा अतिक्रमित नेपाली भू–भाग र लिपुलेक सडकको प्रयोगका सन्दर्भमा सरकार र सत्ता साझेदार दलहरूको मौनतामाथि प्रश्न उठाउनुभएको छ ।

‘राष्ट्रिय सार्वभौमसत्ता र स्पष्ट विदेश नीति आजको मुख्य विषय हो । भारतले नेपाली भूभाग मिचेको विषयमा सरकारले स्पष्ट र आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ । विशेषगरी लिपुलेक मार्ग भारत र चीनले प्रयोग गरिरहेको सन्दर्भमा नेपालको दृष्टिकोण के हो भन्नेकुरा संसदलाई स्पष्ट जानकारी गराइनुपर्छ,’ उनले भने, ’छिमेकीसँगको सम्बन्धलाई सन्तुलित र गतिशील बनाउने हो भने सीमा विवाद समाधानका लागि ठोस कूटनीतिक मार्गचित्र संसद्मा आउनुपर्छ । सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकलाई दैनिक उपभोग्य वस्तु, मलखाद लगायत पहिलेदेखि पाइरहेका सुविधामा अनावश्यक रोक लगाइनु हुँदैन । सुरक्षाका नाममा स्थानीय नागरिकलाई हुने त्रास अन्त्य गर्दै सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार र असुली नियन्त्रण गर्नुपर्छ ।’

नेपाल–भारतबीचको ऐतिहासिक सामाजिक तथा सांस्कृतिक ‘रोटी–बेटी’ को सम्बन्धको मर्यादा राख्दै दैनिक उपभोग्य वस्तु र मलखाद ल्याउनमा सर्वसाधारणलाई दिइँदै आएको सुविधा कटौती नगर्न पनि आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया