कविता : कवि पौडेलको “हिउँफूलको गाउँबाट”

Halesi Khabar
0 Shares

पठन समिक्षा : दयनिधी खनाल
“साहित्य भनेको त्यो आत्मद्विप हो जसले अन्धकार र अन्धकारमय संसारको निराकरण गर्नुका साथै उज्यालोमासमेत सहिमार्ग प्रशस्त गर्छ, चेतनमनस्थितिबाट आत्मसन्तुष्टि प्रदान गर्दछ । मानव सतमार्गको प्रथम पथ प्रदर्शक हो साहित्य ।

भनेर भनेको बाक्य नै सापटी सारेँ कवि केशवप्रसाद पौडेलले । साविक खाल्ले गाविस वडा नम्बर-३ सुन्तलाबारी हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालीका वडा नम्बर-४ खाल्ले । दिक्तेलस्थित खाल्लेमा सामान्य किसान परिवारमा जन्मिएर लोकाचार गरेका कवि केशवप्रसाद पौडेलले साहित्य फाँटमा कविताका माध्यमबाट आफ्नो छुट्टै पहिचान स्थापित गरि सक्नु भएको छ ।

बजारमा अन्य विधा भन्दा कविताका कमै पाठक भएको यस्तो समयमा कवि केशवप्रसाद पौडेलको “हिउँफुलको गाउँबाट“ कविता संग्रहले कतिको युवालाई साहित्यमा जागरूक गर्ला त ? साहित्य रस कसरी प्रवाह गर्ला त हेर्न बाँकी नै छ । युवा उमेर, जोस, जागँरलाई साहित्यिक कर्ममा निरन्तर होमिरहेका कवि केशवप्रसाद पौडेलको हाल सम्म दुईवटा कविता संग्रहहरू बजारमा आइसकेका छन् । धेरै भन्दा धेरै पाठकको हातमा पुगेको पनि छ ।

“पुग्नु छ टाढा साथी” २०६८ मा प्रकाशन भएको थियो। दश बर्षको फरकका पुस्तकाकारमा आएको प्रस्तुतत कृतिमा आफन्त, अक्षरसँग, सुझाव, अचेल भोली, मेरो हिमाल, सपनाहरू, मधुरिपुको मानव म, विस्कुन सुकाउनेहरू, आशा र सपना समेत शिर्षकका ३५ वटा कविताहरू रहेको “हिउँफूलको गाउँबाट” कविता संग्रहलाई हालै काठमान्डांैमा प्राज्ञ एवम् वरिष्ठ साहित्यकार श्रवण मुकारूङ, उपन्यासकार राजन मुकारूङ, कवि एवम् वरिष्ठ साहित्यकार विप्लव प्रतिक, बाल साहित्यकार श्रीराम राई समेतबाट उक्त कृति लोकार्पण गर्ने काम सम्पन्न भएको छ ।
सरसर्ती कवितालाई अध्ययन गर्दा के भेटिन्छ छ ? हामि जस्ता युवा पाठकले उक्त कृतिबाट के पाउन सकिन्छ ? कविता भित्र के कस्ता विषय बस्तुलाई के कसरी उठान गरिएका छन त, समावेश गरिएको पाईन्छ त ? भन्ने विषयमा सामान्य चर्चा गर्ने जमर्को गरेको छु । प्राध्यापक डाक्टर राजेन्द्र विमलले भूमिकामा उल्लेख गरेका विषयहरूलाई हेर्दा “कविताहरू उनले बाँचेका पलहरूका मर्मभेदी दस्तावेज हुन, समग्रतामा कवि पौडेल जीवनवादी र राष्ट्रवादी समकालीन कवि हुन्” उल्लेख छ ।

भूमिकाकै क्रममा विमल उल्लेख गर्नुहुन्छ । “समग्रतामा राष्ट्रनिष्ठाका चिन्तनशील र संवेदनशील कवि पौडेलका कविता-मूल्यान्वेषण कविता हुन् । जसले समाज र राष्ट्र मात्र होइन मानवताका लागि ती शास्वेत सूत्रहरू खोज्ने र तिनमा मानव चेतनालाई संंस्कारित गर्न खोज्छन् जसबाट संंसारलाई यूद्धको ज्वालामुखी होईन, शान्तिको स्वर्ग प्राप्त हुनेछ ।”

वास्तवमा युवा जगतले कविता सुन्न मात्र चाहन्छ, अध्ययन त परको कुरा भयो । ३५ शिर्षक सहितको प्रस्तुत पुस्तकको संक्षिप्त अध्ययन पश्चात कस्ता कुराहरू आउँछन् त यस प्रकार उल्लेख गरिएको छ ।

नजिक्याउनुहोस वा नजिकिनु
“भित्र्याउनुहोस् वा भित्रिनु
जतिलाई आफूमै देख्छु म भित्र
जतिलाई सजाउँछु स्वप्निल गुफाभित्र
जतिलाई समेटछु ब्रह्माण्ड भित्र
आजकल खै के भो कुन्नि
देख्दैछु सबैलाई आफै भित्र“
यसरी “आफन्त“ शिर्षकमा को र कसलाई आफन्त मान्ने भन्ने सम्बन्धमा त्यो सबै आफ्नो मन हो । सास्वत सत्य मनले जुन चिजलाई सत्व चिन्तन गरिन्छ त्यहाँबाट मात्रै आफन्तको पहिचान गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ।
“म अक्षरसँग खेल्छु
शव्दसँग रमाउँछु
इतिहास, बर्तमान र भविश्यका
पाङ्ग्रे रथ बनाउँछु
त्यसैको वीचको केवल
एकलंकार तिमी
म त तिम्रो प्रतिमा देख्दा डराउँछु

छोडिदेउ यो संसारलाई

यहाँ न्याय गर्नेको न्यायिक स्वतन्त्रतामा
आँच पुर्‍याउनु छैन मलाई
मारियुन आफ्नै सन्तान र ठहरियुन् निर्दोष

बेचुन जडिबुटी र पारून खरानी पर्यावरण
थुनिदियुन पानिका मुहान विकासका नाममा
भत्काओस गरिवका झुपडी र
बनाउन भिखारी
होस पुरस्कृत समाजकै
विशिष्ट व्यक्तिहरूको रूपमा”

यसरी “अक्षरसँग“ कविता लाई हेर्दा एउटै कविता भित्र प्रेम, समाज, न्याय, अन्याय र सामाजिक विकृत जिवनलाई उत्तार गरेको पाईन्छ । चोटिलो पाराले लेखिएको पाईन्छ।अनेकता एवं विविधतामा एकता झल्काउने कविता देखिन्छ यो । प्रकृतिको उपहारको रूपमा प्राप्त हाम्रा हिमाल नदि नालालाई केवल पर्यटक आकर्षणको केन्द्र मात्रै बनाउनु पर्छ, त्यसलाई कुरूप बनाउने गरी दुरूपयोग गर्नु हुदैन भनेर कविले “मेरो हिमाल“ शिर्षकमा कटाक्ष गरेको पाईन्छ । प्रकृति प्रेम उजागर भएको पाईन्छ ।“अचेल भोली“ कविताले नेपालको समग्र ग्रामिण भेगको वास्तविक सत्य यथार्थतालाई जस्ताको तस्तै शव्दाकृत गरेको र समग्रतालाई उजागर गरेको देखिन्छ। पचाउन नसकिने तर तितो यथार्थलाई कविले शव्दाकृत गरेको पाईन्छ ।

“भोकै छ अन्तरेको छोरो
विरामी हुनुहुन्छ ठाईली हजुरआमा
साँढे भएको छ काईलो
कति जन्तरीहरू बलात्कृत भएका छन् ।”

वास्तवमा यस कविताले नेपाली समग्र समाजलाई जस्ताको तस्तै उतारेको जस्तै लाग्छ । यस भित्र देशका हालको विकास गति, त्यहाँका कृयाकलाप, सामाजिक चरित्र र पात्रहरूको भूमिका र कर्म एवं समाज विग्रहको मूल कारणलाई प्रस्तुत गर्न खोजिएको पाईन्छ ।

यस कविता संग्रह भित्रका सबै कविताहरू उत्तिकै महत्वपुणर्, सत्य र यथार्थपरक छन नै । त्यै पनि “दास बेच्ने ठाउँबाट“ अलि बढि नै मार्मिक कविता लाग्छ पढ्दै जाँदा । हामी सार्वभौम सम्पन्न नेपाली जनता, राजकिय सत्ता सम्मपन्न नेपाली जनता, एवं सम्पुणर् मानव अधिकारले भरिपुणर् मानव आज आफ्नै देशबाट खाडिमुलुकमा आफ्नै पैसाले बेचिनु परेको छ र आफैले पैसा दिएर सोही पैसाले आफैलाई किन दिन अनुरोध गरेको चरम हृदय विदारक दृष्यलाई गजवले प्रस्तुत गरेको पाईन्छ । राज्य र सरकार प्रति व्यङ्ग्यात्मक प्रश्न तेर्स्याउँदै “ ……..के सुन्छ र सिंहदरबार ? के बोल्छ र संसद भवन?……… भनेर तितो प्रश्न गरेको पाईन्छ ।”

“….. के सुन्छ र सिंहदरबार?
के बोल्छ र संसद भवन ?
दास बनाउँछ जनता
र उत्पादन गर्छ
दास बेच्ने
एक्काईसौ शताव्दिका कम्पनीहरू…..
बढो मार्मिक सत्य उजागर भएको पाईन्छ ।”

त्यसैगरी सुझाव कविताले देश के हो ? नागरिक सहितको पहिचान र पहिचान सहितको नागरिक, नागरीक र पहिचान सहितको सरकार कसरी सम्भव छ भनेर सोझो तिर राज्य तर्फ तेर्स्याएको पनि पाईन्छ । यसरी सर सर्ति कवितालाई अध्ययन गर्दा कविताले राजनैतिक, आर्थिक, सामाजिक, सास्कृति, प्रशासनिक एवं समग्र नेपाली चिन्तन र जीवन शैलिलाई कडा व्यङ्ग्य र तिर हानेको भने पाईन्छ ।

बहुभाषिक शव्द सहितको शव्दरंजित कविता “मधुरिपुको मानव म“ लाई काव्य जगतमै सर्वोत्कृष्ट काव्यका रूपमा लिन सकिने खालको देखिन्छ । विद्वान महोदयहरूले यसको मुल्याङ्कन गर्नु नै हुनेछ । अन्त्यमा कविले कविले “अचेल भोली“ कवितामा नेपालको सामाजिक चरित्रलाई गरेको तिखो व्यङ्ग्य जस्तैः-

…….सोझो सिधालाई चोर्न लगाउँछ
लुट्न, थुत्न र कुट्न लगाउँछ
काट्न, मार्न र हुलदंगा गर्न उकासिदिन्छ
त्यसैको आडमा
आफै उनिहरू विरूद्ध उजुरी हाल्छ
र झ्यालखाना पुर्‍याउँछ……..
यस कविताले नेपालको राजनैतिक र सामाजिक अपराधिक चरित्रलाई उल्लेख गरेको पाईन्छ । यस कविताले राजनितिको अपराधिकरण र अपराधको राजनितिकरणले कसरी समाजलाई खराव असर पारेको भन्ने कुरालाई उजागर गरेको पाईन्छ । बाँकी त अव अन्य पाठकबाट आफ्नो धारणा आउला नै ।म पाठक भएको कारणले आएको आफ्ना धारणाहरू राखिएको छ ।

कवि पौडेलका अन्य कविताहरू पनि यसरी नै पढ्ने अवसर मिलोस । कविको कवित्व जीवनको उत्तरोउत्त प्रगतिको कामना एवं राज्यले पनि सर्जक हरूको उचित सम्मान गर्न सकोस यहि मंगल कामना सहित हिउँफुलको गाउँबाट कविताको वारेमा अन्य पाठक धारणा समेत प्रस्तुत हुन सकोस । सम्पुणर् पाठक एवम् प्रस्तुत पुस्तकका लेखकमा धन्यवाद ।

तपाईको प्रतिक्रिया