दिक्तेल–खानीडाँडा–आहाले सडक : कालोपत्र थालेको छ वर्षपछि बल्ल कामले गति लियो

Halesi Khabar
483 Shares

खोटाङ, ५ जेठ । दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रको काम थालेको छ वर्ष आठ महिना बित्यो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकखण्ड वि.सं. २०७६ चैत–७ गतेसम्ममा कालोपत्र सम्पन्न गर्नेगरी याक्थुङहाङ–साप–सिरुवा जेभीले वि.सं. २०७५ असोज–१ गते ठेक्का सम्झौता गरेको थियो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणको भ्याटसहित रु २१ करोड एक लाख ८८ हजार लगानीमा सम्पन्न गर्नेगरी सम्झौता गरिएको दश दशमलव ९७४ किलोमिटर लामो सो सडकखण्ड कालोपत्रको कामले करिब सात वर्षपछि बल्ल गति लिएको छ । यसअघि दुईवटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेको सडक सम्पन्न गर्नेगरी श्रीनिक बिल्डर्स प्रा.लि.ले जिम्मा लिएको छ ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्रको काम भइरहेको स्थानीय बासिन्दा एवम् पत्रकार सन्तोष पौडेलले जानकारी दिनुभएको छ । कालोपत्रको जिम्मा लिएर काम थालेको लामो समयसम्म ठेकेदारको लापरबाहीले अलपत्र बनेको सडक ढिलै भएपनि सम्पन्न हुने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।

शुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रो पटक खोटाङ हलेसी कन्ट्रक्सन प्रा.लि.का खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो । दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रा.लि.का प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ–साप–सिरुवा जेभीले जनाएको छ ।

कालोपत्रको काम भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडक यही जेठ मसान्तमा कालोपत्रको काम सम्पन्न गरेर असार पहिलो हप्ताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्नेगरी तीव्रता दिइएको प्रोप्राइटर बस्नेतले बताउनुभएको छ । “अघिल्लो ठेकेदार कम्पनीले नाली, साईड ड्रेन, ग्राभेल, बेस तथा सव–बेस लगायत अधिकांश भौतिक संरचनाका काम सम्पन्न गरेको भनेर भुक्तानी लिएका रहेछन् । ती कामहरु अहिले पुनः गर्नुप¥यो । यद्यपि, आफूले जिम्मा लिएको काम तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने तयारी गरेको छु”, उहाँले भन्नुभयो, “निर्माणस्थलमा अहिले दक्ष जनशक्तिसहित ७० जना कामदार खटिएका छन् । जेठ मसान्तभित्र कालोपत्रको सम्पूर्ण काम सम्पन्न गरेर असार पहिलो हप्ता प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना बनाएको छु ।”

अघिल्लो दुईवटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट रु १३ करोड ६९ लाख ५३८ भुक्तानी लिइसकेको पाइएको छ । बाँकी रहेको कालोपत्र सम्पन्न गर्नका लागि श्रीनिक बिल्डर्स प्रा.लि.ले रु सात करोड २२ लाख तीन हजार ४३५ मा सम्पन्न गर्नेगरी पेटी ठेक्का लिएको समाचार स्रोतले जनाएको छ ।

लामो समयसम्म अलपत्र अवस्थामा छोडिएको सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसि ढलान, साईड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ । १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक वि.सं. २०७५ मङ्सिर–१ गते तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पालिटब्यूरो सदस्य विशाल भट्टराईले शिलान्यास गर्नुभएको थियो ।

निर्माणको काममा ठेकेदारको चरम लापरबाही भएको पाएपछि प्राधिकरणले वि.सं. २०७६ पुस–९ गते लिखितरुपमा पत्राचार गरेर काम रोक्नसमेत निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा÷गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको गुनासो आएपछि निर्माणको काम रोकेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले तथा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा जोडिने दिक्तेल–रेग्मीटार सडक पूरा भएपछि दिक्तेलबाट उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने दाबी गरिएको छ । दिक्तेल–खानीडाँडा–आहाले सडक हाल सञ्चालनमा रहेको दिक्तेल–महुरे–रेग्मीटारभन्दा छोटो हुने भएकाले भविष्यमा पूर्वी तराई आवतजावमा बढी प्रयोग देखिएको छ ।

तपाईको प्रतिक्रिया