दिक्तेल रुपाकोट मझुवागढीमा सञ्चालित शिविरमा एक हजार ६७५ जना लाभान्वित

Halesi Khabar
28 Shares

खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा अपाङ्गता परिचयपत्र वितरण शिविरमा एक हजार ६७५ जना स्थानीय बासिन्दाले सेवा लिएका छन् । नगरपालिकाका १५ वटै वडामा एक÷एक दिन सञ्चालन गरिएको शिविरमा २०७ जनालाई अपाङ्गता परिचयपत्र, एक हजार २१२ जनालाई निःशुल्क औषधि वितरण, ११८ जनाको फिजियोथेरापी र ५३४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको हो ।

नगरपालिकाभित्र पर्ने प्रत्येक वडामा आयोजना गरिएको घुम्ती शिविरमा अपाङ्गता भएका व्यक्तिका लागि वैशाखी तथा ह्वील चियर उपलब्ध गराउन साईज (आकार)को नापसमेत लिने गरिएको जनाइएको छ । घुम्ती शिविरमा लिइएको नापको आधारमा वैशाखी तथा ह्वील चियर बाहिरबाट झिकाएर अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकार, नगरपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत सहभागिता तथा राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक साझेदारीमा गत वैशाख–१३ गतेदेखि २७ गतेसम्म शिविर सञ्चालन गरिएको थियो । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आइतबार आयोजना गरेको पालिकास्तरीय समीक्षा बैठक तथा वार्षिक कार्ययोजना निर्माण कार्याशाला कार्यक्रममा शाखा प्रमुख इरन राईले शिविरको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

शिविरमा जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. पुस्कल राई, फिजियोथेरापिष्ट डा.ईश्वर तिमिल्सिना, अडियो टेक्निसियन आशाराम चौधरी, बी अप्टम व्याचलर अफ अप्टोमेट्री सत्यजित सिन्हाले सेवा दिनुभएको थियो । नगर प्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा आइतबार बसेको समीक्षा बैठक तथा वार्षिक कार्ययोजना निर्माण कार्यशाखामा आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन भएका कार्यक्रमको समीक्षा गरेको हो ।

नगरपालिका, प्रदेश सरकार र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन गरिने वार्षिक कार्ययोजनाका कार्यक्रमहरु पारित गरेको छ । कार्यक्रममा फाउण्डेसनका नगर संयोजक अनिता कोईरालाले हालसम्म गरिएका प्रगति विवरण तथा फाउण्डेसनका ओखलढुङ संयोजक संयोग खतिवडाले आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन गरिने वार्षिक योजना पेश गर्नुभएको थियो ।

नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन भएको कार्यक्रम गत माघ–१ गतेबाट लागू भएर तीन वर्ष अर्थात वि.सं. २०८३ पुस मसान्तसम्म सञ्चालन हुने त्रिपक्षीय सम्झौतामा उल्लेख छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्ने जनाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै एक हजार १८३ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा चार हजार ९२२ जना शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर नेपाल र करुणा फाउन्डेशन नेपाल तथा स्थानीय तहको संयुक्त साझेदारीमा सञ्चालन हुने उक्त कार्यक्रम जिल्ला दशवटै स्थानीय तहमा कार्यान्वयन गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा उक्त कार्यक्रम तीन÷तीन वर्ष सञ्चालन हुने त्रिपक्षीय सम्झौतामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया