जेठ–१३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको खोप अभियानको तयारी पूरा

Halesi Khabar
14 Shares

खोटाङ, ८ जेठ । यहि जेठ–१३ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको आई.पि.भि. खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जिल्ला खोप समन्वय समिति खोटाङले जनाएको छ । वि.सं. २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई आई.पि.भि. खोप उपलब्ध गराउने नेपाल सरकारको निर्धारित कार्यक्रम अन्तरगत खोटाङमा पनि यही जेठ–१३, १४ र १५ गते पोलियो रोगविरुद्धको आई.पि.भि. खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो ।

अभियानका क्रममा जिल्लाका सात हजार ७१३ जना बालबालिकालाई आई.पि.भि. खोप उपलब्ध गराउने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । “वि. सं. २०७३ वैशाखदेखि वि.सं. २०७५ असोज मसान्तसम्मको अवधिमा पोलियो खोप कार्यक्रम थिएन । सरकारले ती अवधिमा छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको हो । अभियानका लागि सम्पूर्ण तयारी पूरा गरेका छौँ”, उहाँले भन्नुभयो, “अभियानका लागि जिल्लामा २५७ वटा खोप केन्द्र निर्धारण गरिएको छ । हरेक खोप केन्द्रमा एक÷एकजना स्वास्थ्यकर्मी तथा दुई÷दुईजना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।”

अभियानमा यसअघि खोप लगाएकाले पुनः लगाउन नपर्ने तथा पोलियो थोपा खुवाइरहेका बालबालिकालाई पोलियो रोग विरुद्धको आई.पि.भि. खोप अनितवार्य लगाउनुपर्ने जनाइएको छ । दश स्थानीयको ७९ वडा रहेको जिल्लाका प्रत्येक वडामा तीन÷तीन दिन खोप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

अभियानका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई हजार ११२ तथा हलेसी तुवाचुङ नगरपालिकाका एक हजार २४८ जना बालबालिकालाई आई.पि.भि. खोप लगाउने तयारी गरिएको छ । यस्तै, केपिलासगढी गाउँपालिकाका ५८९, ऐसेलुखर्कका ५५७, रावाबेँसीका ४४३, साकेलाका ४४९, दिप्रुङ चुइचुम्माका ६९५, खोटेहाङका ६८८, जन्तेढुङ्गाका ५०९ र बराहपोखरी गाउँपालिकाका ४२३ जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

अभियान अन्तरगत स्वास्थ्य कार्यालयले मङ्गलबार खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीसँग पोलियो रोगविरुद्धको आई.पि.भि. खोप कार्यक्रमसम्बन्धी अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तरगत पोलियो रोगविरुद्धको आई.पि.भि. खोप कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अभियानका लागि आवश्यक पर्ने खोप प्रदेश स्वास्थ्य मन्त्रालयबाट ल्याएर सम्बन्धित खोप केन्द्रका प्रमुखहरुलाई जिम्मा लगाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सञ्चालन गरिने खोप अभियानमा अवाञ्छित घटना हुन नदिन तथा भएको खण्डमा तत्काल उपचार सेवा प्रदान गर्न जिल्ला अस्पताल खोटाङका डाक्टरहरुको मोबाइल नम्बर हरेक स्थानीय तहलाई उपलब्ध गराइएको जनाइएको छ ।

नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने सरकारको रणनीतिक योजना रहेको छ । वि.सं. २०७३ वैशाखदेखि २०७५ असोजसम्मको अवधिमा देशभरगरी छुटेका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आई.पि.भि. खोप उपलब्ध गराउने तयारी गरिएको छ ।

पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्ष घात हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया