बृहत् खोटाङ–हलेसी महोत्सव : राष्ट्रिय कविता प्रतियोगितामा १६ वटा कविता छनोटमा

Halesi Khabar
14 Shares

खोटाङ, १ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत खुला राष्ट्रिय कविता प्रतियोगिताका लागि १६ जनाको कविता छनोटमा परेका छन् । त्रिधार्मिकस्थल हलेसीमा यही जेठ–३ गते बिहीबार प्रत्यक्ष वाचन गराएर फाइनल प्रस्पिर्धा गराइने प्रतियोगिताका लागि आयोजकसँग दर्ता भएका ३५ जनाको कवितामध्येबाट १६ वटा छनोट गरिएको निर्णायक मण्डलले जानकारी दिएको छ ।

वैशाख–३१ गतेदेखि जेठ–१० गतेसम्म सञ्चालन हुने महोत्सव अन्तरगत जेठ–३ गते खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन हुँदैछ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीस्थित होटल जाम्बालामा सञ्चालन हुने प्रतियोगिताका लागि धनकुटाका अनिल अदृष्यको ‘इन्द्रेणीको अनुहार’, सुनसरीका किरण सिवाको ‘बिर्खे दमाईको आवाज’, तनहुँका चेतन न्यौपानेको ‘युवाको खाँचो’, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को ‘छम्कली रोकाया’, कालिकोटका रणबहादुर रानाको ‘असन्तोषको पर्खाल’, भोजपुरकी शशिकला राईको ‘म यात्री मनको’ र भोजपुरकै सङ्ग्राम किरातीको ‘बाध्यता कि रहर’ छनोटमा परेको छ ।

जेठ–३ गते बिहान ९ः०० बाट शुरु हुने प्रतियोगितामा खोटाङका सातजनाको कविता छनोट भएका छन् । ज्ञानदीप चाम्लिङ राईको ‘मातृभूमि आमाको आँसु’, नानुमैयाँ दाहालको ‘मलाई रगत मनपर्छ’, प्रकाश आचार्य ‘भावुक’को ‘यो देश लम्काउन’, प्यासीको ‘मेरो देश’, रमिला राईको ‘मिती गएपछि’, मौषम आचार्यको ‘सँस्कृतिको समाधि’, सोनम सज्जन किरातीको ‘विनिमय’ र हेम बास्तोला ‘भावुक’को नेपालीपन छनोटमा परेको हो ।

छनोटमा परेका कवि तथा कवयत्रीका कविता स्वयम् कवि तथा कवयत्रीलाई वाचन गर्न लगाएर प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ स्थानसम्म घोषणा गरिने निर्णायक मण्डलका संयोजक रामबिक्रम थापाले जानकारी दिनुभएको छ । राष्ट्रिय कविता प्रतियोगिताका विजयीलाई क्रमशः नगद रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र रु सात हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

महात्सवको साहित्य विद्यातर्फ खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन गर्ने जिम्मा रावासावा प्राज्ञिक समाज नेपाल र टेम्के तुवाचुङ प्रतिष्ठानले लिएको छ । राष्ट्रिय कविता प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता समापन कार्यक्रममा साहित्यकार जसराज किरातीलाई नगद रु ११ हजार १११ सहित ताम्रपत्रले सम्मान गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा मुन्दुम अध्यता भोगीराज चाम्लिङले किराँत दर्शन तथा डिआर पोखरेलले जोसमणि सन्तदर्शन सम्बन्धी दुईवटा कार्यपत्रसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

चन्दा सङ्कलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु ५२ लाख खर्च हुने आयोजक जनाएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।

एघार दिनसम्म सञ्चालन हुने महोत्सव अन्तरगत सोमबार एथ्लेटिक्स विद्याका प्रतियोगिताहरु सम्पन्न भएको महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजूले जानकारी दिनुभएको छ । खुला महिला÷पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उचाल्नुभएको छ ।

उपाधि विजेता बुढा र राईले जनही नगद रु ७५÷७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । जिल्लाको प््मुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको एथ्लेटिक्सतर्फ आठ इभेन्टस् (विद्या)मा प्रतिस्पर्धा गराइएको थियो ।

महोत्सव अन्तरगत जेठ–६ गते खुला गायन प्रतियोगिता तथा जेठ–८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने आयोजकले जनाएको छ ।

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला÷पुरुष टोली प्रथम, द्धितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार १११, रु ५५ हजार ५५५, रु ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।

महोत्सव सफल पार्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौँवटा उपसमिति गठन गरिएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवम् साँगीतिककर्मीहरु दिक्तेल बजारमा भेला भएका छन् ।

 

 

तपाईको प्रतिक्रिया