खोटाङ, ७ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति खोटाङले तत्कालीन गठबन्धनबीच भएको राजनीतिक सहमति उल्लङ्घन गरेर जनता समाजवादी पार्टीले जननिर्वाचित प्रतिनिधिहरूलाई पदमुक्त गराएको भन्दै आपत्ति जनाएको छ । नेकपा खोटाङले जसपाले गरेको निर्णयलाई सहमति उल्लङ्घन र राजनीतिक बेइमानीको सङ्ज्ञा दिँदै निर्णय सच्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।
वि.सं. २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आन्तरिक सहमति भएर एउटा दलका प्रतिनिधिले अर्को दलको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने निर्णय भएकोमा जसपाले उल्लङ्घन गरेको जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’द्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । जिल्लामा क्रियाशील चार राजनीतिक दलको सहमतिअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा तत्कालीन जसपाबाट वडाध्यक्ष र अन्य दुई राजनीतिक दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट वडा सदस्यहरू छाता चुनाव चिह्नबाट निर्वाचित भएका थिए ।
जसपाबाट मुगाधन राई वडाध्यक्ष तथा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट शहरमणि राई, कल्पना राई र गीता विश्वकर्मा तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट रामधन राई सदस्य निर्वाचित हुनुभएको थियो । वडाध्यक्षबाहेक चारैजना सदस्य नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा तत्कालीन गठबन्धनको साझा सहमतिलाई लत्याउँदै जसपाले प्राविधिक विषयलाई हतियार बनाएर जननिर्वाचित प्रतिनिधिहरूलाई पदमुक्त गराएको भन्दै आपत्ति जनाएको छ । वडाध्यक्ष राईले दल परिवर्तन गरेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेको विषय र गठबन्धनको सहमतिअनुसार फरक चुनाव चिह्नबाट निर्वाचित भएका वडा सदस्यहरूको विषय एउटै नभएको नेकपाको जिकिर छ ।
फरक–फरक विषयलाई एउटै रूपमा व्याख्या गर्नु अन्यायपूर्ण भएको भन्दै नेकपाले जसपाको उक्त कदमको भत्र्सना गरेको छ । नेकपाले सत्यतथ्य बुझेर तत्काल उक्त निर्णय सच्याउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।
विज्ञप्तिमा गठबन्धनको राजनीतिक सहमति र निर्वाचित जनप्रतिनिधिहरूको अवस्थालाई फरक ढङ्गले बुझ्नुपर्नेमा जोड दिइएको छ । निर्वाचन आयोगको निर्णयअनुसार जनप्रतिनिधिविहीन भएको पाथेकामा नगर प्रमुख तीर्थराज भट्टराईलाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिने सर्वदलीय बैठकले निर्णय गरेको छ ।
जसपाको सिफारिसको आधारमा निर्वाचन आयोगले यही मङ्सिर–३ गते पाथेकाका वडाध्यक्षसहित सबै जनप्रतिनिधि पदमुक्त भएको सूचनामार्फत जानकारी गराएको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा नियमावली २०७४ मा भएको व्यवस्था अनुरुप निर्वाचन आयोगको यही मङ्सिर–२ गतेको निर्णय गरेको हो ।
निर्वाचन आयोगको निर्णयअनुसार पाथेकासँगै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको पद पनि रिक्त भएको छ । जसपा नेपालको केन्द्रीय समन्वय समितिबाट प्राप्त निर्णयका आधारमा आयोगले पद रिक्त गर्ने निर्णय गरेसँगै जिसस प्रमुख राई पदमुक्त हुनुभएको हो ।
जसपाबाट निर्वाचित जिसस प्रमुख राई नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेकाले पदमुक्त गर्न सिफारिस गरिएको जनाइएको छ । जसपाका प्रदेश अध्यक्ष एवम् केन्द्रीय सदस्य रहनुभएका राई नेकपा प्रवेशपछि केन्द्रीय सदस्य हुनुहुन्छ । त्यस्तै, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद पनि रिक्त भएको छ ।
जनता समाजवादी पार्टीबाट गाउँपालिका उपाध्यक्ष बन्नुभएका राई श्रम संस्कृति पार्टीमा प्रवेश गरिसक्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पद पनि गुमेको छ ।


