खाेटाङ, ६ मङ्सिर । भोटेकोशी बाढीमा बेपत्ता दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३२ वर्षीय पवन खत्रीको कुशको शव बनाएर अन्त्यष्टि गरी काजकिरीया सुरु गरिएको छ । नेपाली सेनामा कार्यरत खत्रीको शव फेला नपर्नुका साथै डिएनए परीक्षणको रिपोर्ट (प्रतिवेदन) समेत ढिलो भएकाले संस्कार अनुसार कुशको शव बनाएर अन्त्यष्टि गरी आज (आइतबार)देखि काजकिरीया सुरु गरिएको हो ।
ब्यारेक सुरक्षामा रहेकै बेला बाढीमा परेर बेपत्ता हुनुभएका पवनको बर्दघाट सुस्ता पश्चिमको गैँडाकोटमा शव फेला परेको भनिए पनि पुष्टि नभएको र डिएनए परीक्षणको रिपोर्ट पनि ढिलो भएकाले संस्कार अनुसार कुशको शव बनाएर अन्त्यष्टि गरी काजकिरीया सुरु गरिएको पवनका आफन्त लीलाबहादुर खत्रीले बताउनुभएको छ । सेनाकाे लेसनायक पदमा कार्यरत पवन नुवाकोटस्थित शेर गणअन्तर्गत रसुवाको मैलुङ पोस्टमा हुनुहुन्थ्यो ।
उद्धारका क्रममा फेला परेको पवनको जस्तो देखिने शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहतमा व्यवस्थापन गरिएको खत्रीले जानकारी दिनुभएको छ । शवको डिएनएको स्याम्पल काठमाडौँ आइसकेको र पवनकी आमा रूद्रमायाँको सेम्पल पनि भदौ-१९ गते नै काठमाडौं पठाइसके पनि रिपोर्ट नआएकाले अन्त्यष्टि गरी काजकिरीया सुरु गरिएको हाे ।
त्यस्तै, साेही बाढीमा बेपत्ता भएका अन्य सातजनाको पनि डीएनए परीक्षणको रिपोर्ट आएको छैन । उक्त बाढीमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सुर्जबहादुर परियार, ऐसेलुखर्क गाउँपालिका–३ का ५३ वर्षीय युवराज राई, ३३ वर्षीय यसबहादुर राई, वडा नं. ४ का ४१ वर्षीय बालकुमार तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २७ वर्षीय सुर्जबहादुर परियार, उक्त नगरपालिका–१५ विजयखर्कका ४३ वर्षीय कविन राई र जन्तेढुङ्गा गाउँपालिका–६ का ३० वर्षीय प्रज्ञान राई बेपत्ता भएका थिए ।
भाेटेकाेशी, त्रिशूली र नारायणी नढीमा आएकाे बाढीमा परेर बेपत्ता भएकामध्ये अधिकाङ्श बेपत्ता परिवारले काजकिरिया गरेका छैनन् । चिनकाे तिब्बत क्षेत्र (केरुङ र लेन्दे खाेला)बाट गत भदौ-१२ गते गएकाे भीषण बाढीले खाेटाङ घर भइ विभिन्न जिल्लामा बसाेवास गर्दै आएका धेरै जनालाई बेपत्ता बनाए पनि यकिन तथ्याङ्क आउन सकेकाे छैन ।


