चार वर्षीय प्रिजलको दुवै मृगौला फेल : उपचार गर्न परिवारसँग खर्च छैन !

Minakshi Rai
।

खोटाङ, २३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निवासी पेशलकुमार मगर र दुर्गा आलेमगरको चार वर्षीय छोरा प्रिजल मगर ११ दिनदेखि कान्ति बाल अस्पताल काठमाडौँको आईसीयू (सघन उपचार कक्ष)मा उपचाररत छन् । यही कातिक–१२ गते सामान्य बान्ता गरेका प्रिजल एक्कासि सिकिस्त बिरामी बनेपछि उपचारका लागि कातिक–१३ गते कान्ति बाल अस्पताल भर्ना गरिएको हो ।

भर्खर विद्यालय भर्ना गरेर कखरा सिक्दै गरेका प्रिजलको दुवै मृगौला फेल (काम नलाग्ने) भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । अस्पताल भर्ना गरेको भोलिपल्टबाट आईसीयूमा राखेर उपचार सुरु गरिएको प्रिजलको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल भर्ना गरेपछि अहिलेसम्म पिसाबसमेत नगरेका प्रिजलको उपचार नेपालका कुनै पनि अस्पतालमा सम्भव नहुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । दिनानुदिन स्वास्थ्य अवस्था बिग्रदै गएको प्रिजललाई कान्ति बाल अस्पतालले भारतको नयाँ दिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाव दिएको छ ।

भारत लगेर चाँडोभन्दा चाँडो उपचार नगराइए प्रिजलको ज्यानै तलमाथि हुने खतरा रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएको बुबा पेशलकुमारले बताउनुभएको छ । “आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गरिरहेका छौँ । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले यहाँ ठीक हुँदैन भनेको छ । बाहिर लगेर उपचार गर्ने खर्च हामीसँगै छैन”, उहाँले भन्नुभयो, “भारतको अस्पतालमा उपचार गर्न रु एक करोड बढी खर्च लाग्छ भन्ने बुझियो । यत्रो पैसा कसरी जुटाउनु ! सबैले सकेको सहयोग गरेर हाम्रो छोरा प्रिजलको ज्यान बचाइदिन अनुरोध छ ।”

जीवन र मरणको दोसाँधमा रहेका प्रिजलको जीवन रक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिनहुन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ‘प्रिजल मगर बचाऔँ’ अभियान सुरु गरिएको छ । प्रिजलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले बताउनुभएको छ ।

प्रिजल मगर बचाऔँ अभियानका सदस्यहरुले आफन्त तथा शुभेच्छुकलाई सामाजिक सञ्जालका साथै प्रत्येक्ष भेट गरेर उपचारमा सहयोग गरिदिन अनुरोध गरिरहेका छन् । आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावका लागि प्रिजलका बुबा पेशलकुमारको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं. २२७०१००००३१९००१० अथवा क्यूआर उपलब्ध गराइएको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको समयमा प्रिजलको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि परिवार समस्यामा परेका छन् । प्रिजललाई गुणस्तरीय शिक्षा दिलाउन राजधानी काठमाडौँमा कोठा भाडामा लिएर बस्दै आएका पेशलकुमार र दुर्गा एकमात्र सन्तान प्रिजलको दुवै मृगौला फेल भएको कुरा अस्पतालले दिएको रिपोर्ट (प्रतिवेदन)बाट जानकारी पाएपछि चिन्तित बनेका छन् ।

तिहारमा चेलीको हातबाट भाइटीका गर्न आफ्नो घर खार्मी आउने तयारी गरिरहेका पेशलकुमार र दुर्गा छोरा प्रिजलको उपचार नेपालमा सम्भव नभएपछि भारत लैजाने योजनामा जुटेका छन् । दशैँमा घर नआएका छोरा÷बुहारी र नाति तिहार मान्न आउने आशामा रहेका बुबाआमा नाति (प्रिजल)को स्वास्थ्यमा जटिल समस्या देखिएको खबर सुनेपछि दिनरात रोइरहेका छन् ।

तपाईको प्रतिक्रिया