खोटाङ, १९ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा पहिलोपटक लगाइएको सयपत्री फूलको व्यवसायिक खेतीले राम्रो उत्पादन दिएको छ । राजनीतिमा सक्रिय स्थानीय तीन युवाको सामुहिक लगानीमा ‘खोटाङ एग्रो इन्डस्ट्री फर्म’ दर्ता गरेर बाम्राङका करिब ४० रोपनी जग्गामा सयपत्री फूलको व्यवसायिक खेती गरिएको हो ।
राजनीतिसँगै व्यवसायिक कृषि पेसामा लाग्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका लेखबहादुर रम्तेल, सोही ठाउँका बालकृष्ण कटवाल र वडा नं.–४ खाल्लेका चन्द्र केसीलाई आजभोलि सयपत्री फूल टिप्न र माला उन्ने कामदार खोज्न चटारो छ । तिहार नजिकै आइसकेकाले बारीमा ढकमक्क फुलेका सयपत्री फूल टिपेर बजारसम्म पुर्याउन उनीहरुलाई भ्याइनभ्याइ भएको हो ।
तिहारमा सयपत्री फूलको करिब १२ हजार माला तयार गर्ने लक्ष्य राखिएको योङ कम्युनिष्ट लिग (वाइसिएल) दिक्तेल रुपाकोट मझुवाागढी नगरपालिका कार्यसमितिका संयोजकसमेत रहनुभएका सञ्चालक रम्तेलले बताउनुभएको छ । “पहिलोपटक सञ्चालन गरिएको फर्ममा यसपटक करिब रु ३० देखि ३६ लाख आम्दानी गर्न सकिने अनुमान गरिएको छ । तिहारमा करिब १२ हजार माला बिक्री गर्ने लक्ष्य छ । यसमध्ये नौँ हजार काठमाडौँमा र तीन हजार जिल्लामै खपत हुन्छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “फूल टिप्न र माला उन्न दैनिक २५–२६ जना कामदार खटाइएको छ । सयपत्री फूलको माला उन्नेलाई प्रतिमाला रु सातका दरले पारिश्रमिक दिने गरेका छौँ ।”
एक जना कामदारले एक दिनमा १०० वटाभन्दा बढी सयपत्री फूलका माला तयार गर्न सक्ने भएकाले उनीहरुको आम्दानी पनि राम्रो हुने गरेको सञ्चालकहरुले बताएका छन् । तीन युवाको सामूहिक लगानीमा सञ्चालित फर्ममा उत्पादित सयपत्री फूलको माला उन्ने कामले स्थानीय महिलालाई रोजगारीसमेत सिर्जना भएको छ ।
बाम्राङमा सञ्चालित फर्ममा उत्पादित सयपत्री फूललाई केही दिन काठमाडौँमा भण्डारण गरेर राख्ने र त्यसपछि बजारमा बेच्ने तयारी गरिएको सञ्चालक केसीले बताउनुभएको छ । “तिहारका लागि फूलको बजार केही दिनपछि मात्र सुरु हुन्छ । त्यतिन्जेलका लागि भण्डारण गरेर राख्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “सयपत्री फूलको व्यवसाय सुरु गरेको यो पहिलोपटक हो । पहिलोपटकमै राम्रो उत्पादन भएको छ । आगामी दिनमा फूल खेतीबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आशा जागेको छ ।”
नेपाली काँग्रेसका युवा नेता केसीसहित फरक–फरक पार्टीमा आवद्ध तीन युवाले तीन वर्षअघिदेखि बाम्राङमा अकबरे खुर्सानी तथा व्यवसायिक भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । दूध उत्पादनका लागि यस वर्ष २० वटा लैनौ भैँसी पाल्नेगरी १०० रोपनी जग्गा भाडामा लिएर घाँस खेतीसमेत गरिएको छ ।
फर्ममा काम गर्ने दुई जना पूर्णकालीन कामदारलाई सञ्चालकहरुले खाना तथा खाजासहित मासिक तलब उपलब्ध गराउँदै आएका छन् । पूर्णकालीन बाहेकका कामदारलाई सिजनअनुसार दैनिक रु ५०० देखि रु ८०० सम्म ज्याला उपलब्ध गराउने गरिएको जनाइएको छ ।
फर्मबाट उत्पादित दूध तथा दूधबाट उत्पादित परिकार दिक्तेलबजारस्थित सालपा कृषि कम्पनीको ‘रैथाने कृषि मार्ट र रैथाने खाजा घर’मा खपत हुँदै आएको छ । रैथाने बाली प्रवद्र्धन, उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले दिक्तेलमा स्थापना गरिएको सालपा कृषि कम्पनीले जिल्लामा उत्पादित सबै प्रकारका कृषिउपज खरिद गरेर प्रशोधनगरी राजधानी काठमाडौँ लगायतका सहरमा बिक्री गर्दै आएको छ ।
राजनीति गर्ने व्यक्तिलाई आम्दानीको वैकल्पिक स्रोत अनिवार्य हुनुपर्ने भएकाले सामुहिक लगानीमा कृषि व्यवसाय सुरु गरेको उनीहरुले बताएका छन् । कतिपय व्यक्तिले राजनीतिलाई कमाइ खाने भाँडो बनाइरहेका बेला तीन युवाको सामुहिक लगानीमा सञ्चालन गरिएको कृषि फर्मले धेरैका लागि उदाहरणीय काम भएको छ ।


