‘सातौँ सोल्मा अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३’को उपाधि इन्द्रेणीपोखरीलाई

Minakshi Rai
।

खोटाङ, १७ कातिक । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३’को उपाधि खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीले उचालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको आफ्नै खेलमैदानमा आज (मङ्गलबार) भएको फाइनल खेलमा साकेला गाउँपालिका–५ मात्तिमलाई शून्यको बिरुद्ध तीन गोल गर्दै इन्द्रेणीपोखरीले अन्तर वडाकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

सातौँ संस्करणको उपाधि विजेता इन्द्रेणीपोखरीले रु एक लाख २२ हजार २२२ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ ।  उपविजेता बनेको मात्तिमले रु ७७ हजार ७७७ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प््रतियोगिताको सुरुवात्बाटै उत्कृष्ट प्रदर्शन गरेको इन्द्रेणीपोखरीले तीन गोल गर्दा मात्तिमले कुनै पनि गोल फर्काउन नसकेको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगितामा सेमिफाइनलिस्ट बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र सोही नगरपालिकाको वडा नं. ५ लफ्याङले जनही नगद रु ३३ हजार ३३३ प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एञ्जल राई उदीयमान खेलाडी, इन्द्रेणीपोखरीका शुभराज राई उत्कृष्ट गोलरक्षक, सोही ठाउँका सविन भुजेल उत्कृष्ट डिफेण्डर, मात्तिमका युसन राई उत्कृष्ट मिडफिल्डर, इन्द्रेणीपोखरीका विकास राई उत्कृष्ट प्रशिक्षक, मात्तिमका साहेल राई सर्वाधिक गोलकर्ता र इन्द्रेणीपोखरीका विजय राई उत्कृष्ट खेलाडी चयन भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार ५५५ र अन्यलाई नगद रु दुई हजार २२२ प्रदान गरिएको सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभएको छ ।

विजेता वडा र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गर्नुभएको छ । यही कातिक–११ गतेदेखि सुरु भएको खुला अन्तर वडाकप पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १२ वडाले सहभागिता जनाएको थियो ।

विविध कार्यक्रमसहित आयोजना गरिएको सातौँ संस्करणको फुटबल प्रतियोगिताको अवसर पारेर कातिक–१५ गते बृहत् साँगीतिक प्रस्तुति राखिएको थियो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले कातिक–११ गते औपचारिक उद्घाटन गर्नुभएको खेलकुद तथा साँगीतिक कार्यक्रममा चर्चित गायिका रचना रिमाल लगायतका राष्ट्रिय कलाकारहरुले साँगीतिक प्रस्तुति गरेका थिए ।

खेल क्षेत्रको विकास तथा व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले वि.सं. २०७० सालमा स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष वडास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथ स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लबले जग्गा खरिद गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आफ्नै खेलमैदान निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया