खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५ लफ्याङस्थित देउले सामुदायिक वनमा साल (सखुवा)का रुख अवैधरुपमा ढालेर काठ कटान गरेको पाइएको छ । खाल्ले र लफ्याङका दुईवटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैधरुपमा ढालेर काठ कटानगरी निकासी गर्ने तयारी गरेको पाइएको हो ।
चन्द्रमान सामुदायिक वन क्षेत्रमा करिब ३० वटा सालका रूख ढालेको पाइएको सामुदायिक उपभोक्ता समितिका अध्यक्ष एकराज पौडेले बताउनुभएको छ । “सामुदायिक वन क्षेत्रमा सालका रूख कटान गरेर ढालेको पाइएको छ । त्यसले धेरैवटा बिरुवामा क्षति गरेको छ”, उहाँले भन्नुभयो, “कसले र कुन प्रयोजनका लागि कटान गरेको हो भन्ने अझै खुल्न नसकेको छैन । ढोलिएका रुखहरु वन क्षेत्रमै अलपत्र अवस्थामा छन् ।”
सालका रूख अवैधरुपमा ढाल्नमा संलग्न व्यक्ति तथा समूहको पहिचानगरी उनीहरूमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । सामुदायिक वनमा भएको अवैधरुपमा सालका रुख कटानका घटनाको वास्तविकता पत्ता लगाउन चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिले पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरेको जनाइएको छ ।
उपभोक्ता समितिले वन क्षेत्रमा रहेका सालका रूख ढालेको अवस्थाबारे अनुगमन गरी घटनाको तथ्य पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ । सामुदायिक वन क्षेत्रमा यसरी ठूलो सङ्ख्यामा रूख काटिदा समेत सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन तथा नियमन हुन नसकेको स्थानीय गोपाल श्रेष्ठले बताउनुभएको छ ।
यता, सब–डिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत सरोज घिमिरेले सामुदायिक वन क्षेत्रमा भएको सालका रुख कटानको घटनामा स्थलगत अनुगमन गरी क्षतिको यकिन विवरण सङ्कलन गरिने बताउनुभएको छ । उहाँका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानून बमोजिम आवश्यक कारबाहीको प्रक्रियासमेत अघि बढाइने जनाइएको छ ।
वाइछा दोभान क्षेत्रमा निजी जग्गा र सामुदायिक वनको सीमाना यकिन हुन नसकेकाले नापी टोलीको सहयोगमा जग्गाको सीमाना छुट्याइने वन अधिकृत घिमिरेले जानकारी दिनुभएको छ । सीमा निर्धारण भएपछि सालका रुख कटान भएको क्षेत्रको वास्तविक अवस्था पहिचान गरेर थप अनुसन्धान अघि बढाइने जनाइएको छ ।
स्थानीयवासीले भने सालका रूख कटानमा संलग्न व्यक्तिहरूको पहिचान नखुले पनि काठ तस्करीको उद्देश्यले रुख ढालिएको हुन सक्ने आशङ्का गरेका छन् । खाल्ले र लफ्याङका सामुदायिक वन क्षेत्रमा सखुवाका रूख कटान भएको घटनाले जिल्लाका सामुदायिक वनको संरक्षण तथा निगरानीमाथिसमेत प्रश्न उठाएको छ ।
नेपालमा साल पर्यावरण र आर्थिक दृष्टिकोणले नेपालको संरक्षित र प्रतिबन्धित वन पैदावार अन्तरगत पर्ने गर्दछ । नेपालको वन ऐन, २०७६ अन्तरगत सालको रुख अवैधरुपमा कटानलाई गम्भीर अपराध मानिन्छ ।
वन ऐन बमोजिम बिना अनुमति सालका रुख कटान वा नोक्सान पु¥याएमा कडा कानूनी कारबाही र सजाय हुन्छ । सालको रुख काटेर वन क्षेत्र फँडानी गर्ने, खनजोत गर्ने वा घर÷टहरो बनाएको पुष्टि भएमा अधिकतम पाँच वर्षसम्म कैद वा रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।


