खोटाङ, १४ कातिक । योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल हलेसी तुवाचुङ नगर समितिले आगामी मङ्सिर–११ गतेदेखि ‘वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ । नेपाली कम्युनिष्ट पार्टी निकट वाईसिएलले जनयुद्धका शहीदहरूको सम्मान तथा सम्झनामा त्रिधार्मिकस्थल हलेसीस्थित खेलमैदानमा तीन दिनसम्म भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
वाईसिएल नेपाल हलेसी तुवाचुङ नगर समितिले आयोजना गर्न लागेको भलिबल प्रतियोगिताका विजेता टोलीलाई नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दिनेश बुढाथोकीले जानकारी दिनुभएको छ । प्रतियोगिताको उपविजेता टोलीलाई नगद रु ३० हजार र तेस्रो हुने टोलीलाई नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा विद्यागतर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट लिबेरो, मिडल ब्लकर, सेटर, स्पाइकर र सर्भरलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । शहीद सुखधन राई ‘विधान’, हबिन चाम्लिङ ‘भीम’, तविन चाम्लिङ ‘ज्वाला’, उजिरमान राई ‘जुनेश’, खड्गबहादुर भुजेल, नौसरी राई ‘सावित्रा’, मोतीराम मगर ‘मिलन’ र ललितबहादुर भुजेल ‘उपेश’को योगदानलाई स्मरण र सम्मान गर्दै जिल्लामा भलिबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
खेलकुदको माध्यमबाट जनयुद्धका शहीदहरूले देखेको परिवर्तन, समानता, न्याय र समाजवादको सपना स्मरण गर्दै उहाँहरूको त्याग र बलिदानलाई नयाँ पुस्तासम्म पु¥याउनु भलिबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बुढाथोकीले बताउनुभएको छ । “शहीदको सम्मान भाषण र नारामा मात्र सीमित हुनु हुँदैन । त्यसलाई सिर्जनात्मक र उत्पादनशील काममार्फत जीवन्त बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो”, उहाँले भन्नुभयो, “युवालाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्ने, अनुशासित बनाउने तथा सामाजिक रूपान्तरणको अभियानसँग जोड्नुपर्छ । प्रतियोगिताले स्थानीय युवामा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास, युवाबीच एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
भलिबल प्रतियोगिताले सचेत, अनुशासित र परिवर्तनप्रति प्रतिबद्ध युवा पुस्ता निर्माणमा समेत योगदान पु¥याउने आयोजकले विश्वास लिएको छ । मङ्सिर –१३ गतेसम्म सञ्चालन हुने वडास्तरीय खुला भलिबल प्रतियोगिता पार्टी सदस्य, शुभेच्छुक तथा दाताको सहयोगमा सञ्चालन गरिने जनाइएको छ ।


