गगन थापाहरूले चयन गरेको नेतृत्वले देशमा केही गर्न सक्दैन : सरस्वती बजिमय
खोटाङ, १७ कातिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य सरस्वती बजिमयले गगन थापाहरूले चयन गरेको नेतृत्वले देश र जनताका लागि केही गर्न नसक्ने दाबी गर्नुभएको छ । नेपाली काँग्रेस (देउवा) पक्षको आज (मङ्गलबार)देखि दिक्तेलमा सुरु भएको आठौँ खोटाङ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बजिमयले पार्टीको गतिविधिलाई सक्रियताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । “कसैले विरोध ग¥यो भने पनि हाम्रो काँग्रेसको प्रतिनिधिले यो काम गरेको छ भनेर भन्न सक्नुपर्छ । हामीले नेतृत्व गरेको काँग्रेस अगाडि बढ्छ । यसका लागि हामीले पार्टीको सङ्गठन अझ मजबुत बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “गगन थापाहरूले चयन गरेको नेतृत्वले केही गर्न सक्दैन । हामीले नेतृत्व गरेको काँग्रेसले नै देश विकास गर्छ ।”
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले खोटाङमा विकास निर्माणका क्षेत्रमा अझै पनि यथावत् समस्या रहेको बताउनुभएको छ । प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्रीसमेत रहनुभएका महामन्त्री राईले खोटाङमा पटक–पटक कम्युनिस्टले निर्वाचन जिते पनि जिल्लाको विकास हुन नसकेको आरोप लगाउनुभएको छ ।
एउटा व्यक्ति सधैँ जितिरहने तर मतदाता सधैँ हारिरहने अवस्था रहेको उल्लेख गर्नुहुदैं उहाँले विकासका मुद्दामा प्रतिस्पर्धा गर्न कम्युनिस्ट नेताहरूलाई चुनौती दिनुभएको छ । काँग्रेसको सरकार बने खोटाङका विकास निर्माणका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुदैँ महामन्त्री राईले जिल्लाको विकासका लागि काँग्रेस नै विकल्प भएको दाबी गर्नुभएको छ ।
अधिवेशनका अवसरमा दिक्तेल बजारमा निकालिएको र्यालीमार्फत काँग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको तथा न्यायालयको स्वतन्त्रता र सुशासनको पक्षमा आवाज उठाएको समेत बताउनुभएको छ । आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउनुपर्नेमा राईले जोड दिनुभएको छ ।
अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वसँगै महाधिवेशन प्रतिनिधि चयन गरिने महासमिति सदस्य दिनेश राईले बताउनुभएको छ । जिल्ला अधिवेशनको उद्घाटनका अवसरमा दिक्तेल बजारमा र्यालीसमेत निकालिएको थियो ।


