खोटाङ १९, कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित श्री माध्यमिक मझुवा बाँसबोटेको अक्षयकोष संख्या १८ पुगेको छ। विद्यालयको ६६औँ वार्षिकोत्सव तथा १५औँ अक्षयकोष दिवसको अवसरमा बिहीबार थप दुईवटा अक्षयकोष स्थापना गरिएसँगै अक्षयकोषको संख्या १८ पुगेको हो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको नवनिर्मित मञ्चसमेत उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका निवर्तमान प्रमुख बबी चाम्लिङले ब्यानर वाचन गर्दै रिबन काटेर वार्षिकोत्सव कार्यक्रम तथा नवनिर्मित मञ्चको उद्घाटन गर्नुभएको थियो। विद्यालयलाई नगरपालिकाले उपलब्ध गराएको साढे ६ लाख पैसामा उक्त मन्च निर्माण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा स्वर्गीय सजिना राईको स्मृतिमा ८० हजार रुपैयाँ र २०७० सालका १८ औं एसएलसीका पूर्वविद्यार्थीहरूबाट एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका लेखापाल गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ । थप दुईवटा अक्षयकोष स्थापना भएसँगै विद्यालयमा अक्षयकोषको संख्या १८ पुगेको उहाँले बताउनुभएको छ ।
वार्षिकोत्सवका अवसरमा विद्यालयले १८ जना विद्यार्थीलाई नगदसहित छात्रवृत्ति प्रदान गरेको छ। त्यस्तै, कक्षा १२ मा उत्कृष्ट अङ्क हासिल गर्ने छात्रा सजिता बाँस्तोलालाई नगदसहित पुरस्कृत गरिएको छ।
वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालयले शिक्षण क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने तीन जना शिक्षकलाई सम्मान गरिएको छ। त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष काजिमान राई र विद्यालयलाई खानेपानीको मुहान उपलब्ध गराएर सहयोग पुर्याउने स्थानीय शिवकृष्ण राईलाई समेत सम्मान गरिएको छ। विद्यालयले अक्षयकोषमार्फत विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको लेखापाल श्रेष्ठले बताउनुभएको छ।


