खोटाङ, ६ मङ्सिर ।क्यान्सरपीडित कवि तथा गीतकार टीका चाम्लिङको उपचारकाे क्रममा निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ५३ वर्षीय चाम्लिङको गएराति निधन भएको हो ।
वि.सं. २०८० सालदेखि क्यान्सरसँग लड्दै आउनुभएका चाम्लिङको बिएण्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको आफन्त सुरेश राईले जानकारी दिनुभएकाे छ ।
संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा लगेर दाहसंस्कार गर्ने तयारी भइरहेको जनाइएकाे छ।
पहिलाेपटक क्यान्सर उपचार सफल भएकाे चाम्लिङको दोस्राेपटक अर्को ठाउँमा क्यान्सर दोहोरिएको थियो । वि.सं. २०३० माघ-४ गते जन्मनुभएका चाम्लिङका २०० बढी गीत रेकर्ड छन् ।
कवि तथा गीतकार चाम्लिङका सधैँभरि, गीति अडियो-२०५८, राखौऊ सम्झना, लोकजुहारी शब्द संकलन-२०५९, सोमबारे हाटैमा, लोक जुहारी शब्द सड्ढलन-२०५९, सपनाको रङ, गीतिकाव्य–२०६०, समयको रङ, गीतिकाव्य-२०६४, जूनको बस्ती, गीतिकाव्य-२०६८, मुन्दुम र मालिङ्गो, गीतिकाव्य-२०७१, बागी कविता, कविताकाव्य-२०८० लगायत प्रकाशित छन् ।
चाम्लिङले वि.सं. २०६१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत-सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी बाल गीत-सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, वि.सं. २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको नेपाली प्रतिभा पुरस्कार, वि.सं. २०७२ सालमा खोटाङ सेवा समाज, बेलायतको खोटाङ प्रतिभा पुरस्कार, वि.सं. २०७८ सालमा कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मान लगायतका दर्जर्नौ सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएकाे थियाे ।
राजधानी काठमाडाैँमा बसेर लामो समयदेखि गीत, कविता र संस्कृतिका क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका चाम्लिङका ‘जाउँ सँगी गाउँघरैमा, आलु तामाले’ चर्चित गीत हुन् । चाम्लिङका श्रीमती र एक छोरा छन् ।
कवि तथा गीतकार चाम्लिङकाे क्यान्सर राेगका कारण अल्पायुमै निधन भएपछि परिवार समस्यामा परेका छन् । चाम्लिङकाे निधनले साहित्यिक तथा गीत/सँगीतकाे क्षेत्रमा समेत ठूलाे क्षति पुगेकाे जनाइएकाे छ ।


