‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

Minakshi Rai
।

खोटाङ, ५ मङ्सिर । शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले उचालेको छ । खार्मीस्थित शिखर स्पोर्टस क्लबको आफ्नै खेल मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सोल्माले उपाधि जितेको हो ।

पहिलो संस्करणको उपाधि विजेता सोल्माले रु एक लाख ११ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष महेन्द्र राईले जानकारी दिनुभएको छ । उपविजेता बनेको खार्मीले रु ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल ट्राइब्रेकरमा नै धकेलिएको थियो ।प्रतियोगितामा सेमिफाइनलिस्ट बनेको केपिलासगढी गाउँपालिका–४ बाक्सिला र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माले जनही नगद रु २१ हजार १११ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका हेखाम राई उदीयमान खेलाडी, सोही ठाउँका नवीन पोखरेल उत्कृष्ट गोलरक्षक, खार्मीका सविन दाहाल उत्कृष्ट डिफेण्डर, सोल्माका विकास राई उत्कृष्ट मिडफिल्डर, सोल्माका प्रकाश राई उत्कृष्ट प्रशिक्षक, बाक्सिलाका संगम राई सर्वाधिक गोलकर्ता र सोल्माका आशिष राई उत्कृष्ट खेलाडी चयन भएका छन् ।प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार ५५५ र अन्यलाई नगद रु तीन हजार ३३३ प्रदान गरिएको क्लबका अध्यक्ष राईले बताउनुभएको छ ।

त्यस्तै, प्रतियोगिता समापनका अवसरमा जिल्लामा क्रियाशील पत्रकार आत्मा राई ‘मिनाक्क्षी’लाई नगद रु पाँच हजार ५५५ राशीको ‘खेल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
विजेता वडा र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले पुरस्कार वितरण गर्नुभएको छ ।

यही मङ्सिर–१ गतेदेखि सुरु भएको खुला अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ मा जिल्लाका विभिन्न स्थानीय तहका दश वडाले सहभागिता जनाएको थियो । विविध कार्यक्रमसहित आयोजना गरिएको प्रतियोगिताको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईले गर्नुभएको थियो ।

नगरपालिकाको लगानीमा निर्माण गरिएको खेलमैदानको उपयोग गर्दै दक्ष तथा व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्न खुला वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक हर्कराज राईले जानकारी दिनुभएको छ ।

नगरपालिकाको लगानीमा वि.सं.२०७५ सालमा निर्माण गरिएको खेलमैदानमा पहिलोपटक प्रतियोगिता आयोजना गरिएको हो ।
नगरपालिकाको आर्थिक सहयोग तथा एक्सट्रिम ईनर्जीले प्रायोजन गरेको प्रतियोगितामा करिब रु १५ लाख खर्च भएको क्लबका कोषाध्यक्ष विकाश राईले जानकारी दिनुभएको छ । प्रतियोगिता सम्पन्न गर्न देश/विदेशमा रहेका शुभेच्छुकले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया