खोटाङ, ७ मङ्सिर । योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल हलेसी तुवाचुङ नगर समितिको आयोजनामा ‘शहीद स्मृति कप–२०८३’ खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जनयुद्धमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिकाभित्रका आठजना शहीदहरुको स्मृतिमा शहीद स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
आयोजकले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता यही मङ्सिर–११ देखि १३ गतेसम्म महादेवस्थानस्थित बसाहा गुफा अगाडिको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले मङ्सिर–१० गते दिउँसो १ः०० बजेसम्म टोली दर्ता गराइसक्नुपर्ने आयोजक वाईसीएल नेपाल नगर समितिका सचिव राकेश राईले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेतालाई रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुवै टोलीलाई जनही रु दश÷दश हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
विद्यागतर्फ उत्कृष्ट डिफेन्डर, स्पाइकर, ब्लकर, लिबेरो र अनुशासित खेलाडीलाई जनही रु एक हजारको साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
खेलमा सहभागी हुने खेलाडीले सम्बन्धित वडाको सिफारिस, नागरिकता वा आवश्यक प्रमाण पेस गर्नुपर्नेछ । एउटा टोलीमा नौँ खेलाडीसहित एक प्रशिक्षक र एक व्यवस्थापकगरी ११ जना रहने व्यवस्था गरिएको छ ।
खेलका क्रममा विवाद उत्पन्न भए रेफ्री र आयोजकबीचको निर्णय अन्तिम हुने सूचनामा उल्लेख छ । प्रथमपटक आयोजना गरिएको यो प्रतियोगिता पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगमा सञ्चालन गर्न लागिएको जनाइएको छ ।


